पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले खाना पकाउने ग्यासको अभाव हुने भन्ने अफवाहका कारण आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमै भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसो नगर्न नगरवासीलाई आग्रह गर्नुभएको छ।

नगर प्रमुख आचार्यका अनुसार हाल बजारमा सामान्य अवस्थाको तुलनामा ५० हजारभन्दा बढी ग्यास सिलिन्डर उपभोक्ताको घरबाट बजारमा फिर्ता नआएको जानकारी प्राप्त भएको छ। यसले वास्तविक अभाव नभए पनि कृत्रिम अभाव भएको जस्तो अवस्था सिर्जना गरेको उहाँले बताउनुभयो।

उहाँले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगरी आवश्यकताअनुसार मात्र खरिद तथा प्रयोग गर्न सम्पूर्ण नगरवासीसँग अनुरोध गर्नुभएको छ। साथै, ग्यास विक्रेता तथा वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न तथा उपभोक्ताको समस्याको अनुचित फाइदा नउठाउन पनि आग्रह गर्नुभएको छ।

नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट ग्यासको आपूर्ति तथा बिक्री–वितरणको नियमित अनुगमन भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गरेको, अनुचित मौज्दात गरेको वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।

उहाँले नागरिकलाई अफवाहमा नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद तथा प्रयोग गर्न र संकटको बहाना बनाएर अवसरको दुरुपयोग गर्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्न आग्रह गर्नुभएको छ।

नगर प्रमुख आचार्यले बजारमा सहज आपूर्ति कायम राख्न उपभोक्ता, व्यवसायी र सम्बन्धित सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गर्दै संयमता अपनाउन सबैसँग अपिल गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार