ढोरपाटन नगरपालिकाले सालझण्डी–ढोरपाटन सडक आयोजनाअन्तर्गत बुर्तिबाङदेखि ढोरपाटन जाने सडकखण्डमा निर्माण कार्य जारी रहेकाले रात्रिकालीन समयमा सवारी साधन तथा पैदल यात्रुलाई आवतजावत नगर्न आग्रह गरेको छ।
नगरपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार सडक निर्माणका क्रममा जमिन स्थिर नभएको, वर्षायाममा सुख्खा पहिरो, पहिरो तथा ढुंगा खस्ने जोखिम उच्च रहेकाले मानवीय तथा भौतिक क्षति हुन सक्ने सम्भावना रहेको जनाएको छ।

सूचनामा बेलुका ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म उक्त सडकखण्डमा कुनै पनि सवारी साधन तथा पैदल यात्रु आवतजावत नगर्न अनुरोध गरिएको छ। त्यसैगरी, लगातार भारी वर्षा भइरहेको समयमा पनि सुरक्षा जोखिमका कारण यात्रा नगर्न नगरपालिकाले आग्रह गरेको छ।
ढोरपाटन नगरपालिकाले सडक निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन सर्वसाधारणको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित सबैलाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
हाल वर्षायामका कारण बागलुङको बुर्तिबाङ–ढोरपाटन सडकखण्डमा विभिन्न स्थानमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने घटनाहरू दोहोरिँदै आएका छन्। सम्बन्धित निकायहरूले सडक सञ्चालन र मर्मतका कार्यलाई निरन्तर अघि बढाइरहेका छन्।



