पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा स्थानीय तहका न्यायिक समिति, मेलमिलापकर्ताहरू तथा सञ्चारकर्मीहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी कानुनी व्यवस्था, नीति तथा प्रक्रियाबारे जानकारी दिने, वैदेशिक रोजगारसँग सम्बन्धित विवाद तथा समस्याको प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्याउने, सुरक्षित वैदेशिक रोजगारका विषयमा तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गर्ने, ठगी, शोषण, तथा मानव बेचबिखन न्यूनीकरण र सुरक्षित आप्रवासन तथा श्रमिक अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सामी कार्यक्रमका जिल्ला संयोजक आदिम ध्वज श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सामी कार्यक्रमकी गण्डकी प्रदेश व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगार चुनौती र समस्याहरूले घेरिएको बताउनुभयो । गन्तव्य मुलुकमा नेपाली श्रमिकहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको उल्लेख गर्दै उहाँले यो क्षेत्रलाई सुरक्षित र समस्यारहित बनाउन व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो । विप्रेषणको प्रमुख स्रोतका रूपमा वैदेशिक रोजगारी रहेको भए पनि यसलाई सुरक्षित बनाउन नसकिएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीको क्षेत्रमा रहेको ठगी त्यो केवल श्रमिकहरूमा मात्र नभई जीवन गुमाएका श्रमिकका लासहरूमा समेत अकल्पनीय रहेको उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउन समुदाय स्तरमा कानुनी सचेतना र वित्तीय साक्षरतामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका र कास्की जिल्लामा सञ्चालित सामी कार्यक्रमका गतिविधिहरू, सुरक्षित वैदेशिक रोजगारी बारे नीतिगत प्राथमिकताका विषयहरू सम्बन्धमा सामीका जिल्ला संयोजक आदिम ध्वज श्रेष्ठ, वैदेशिक रोजगारीको वर्तमान सन्दर्भ तथा सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा न्यायिक समिति तथा मेलमिलापकर्ताहरूको भूमिका सम्बन्धमा हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत रोजलिन किमारी सिंह र वैदेशिक रोजगारका सवालमा सञ्चारकर्मीको संवेदनशीलता, समाचार सम्प्रेषण, गोपनीयता, शीर्षकले पार्ने असर र आचारसंहिताको विषयमा नगर प्रमुखको प्रेस संयोजक भीम थापाले अभिमुखीकरण गर्नुभएको थियो ।
महानगरपालिकाका न्यायिक समितिका सदस्य रजनी परियार र कालिदास पोख्रेलले वैदेशिक रोजगारीका सम्बन्धमा सामाजिक रूपमा उत्पन्न हुनसक्ने विवादहरूको शान्तिपूर्ण समाधानमा मेलमिलापर्ताहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनोसामाजिक परामर्शकर्ता प्रभा आचार्यले गर्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिकामा सूचिकृत मेलमिलापकर्ता र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार