पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोला क्षेत्रमा घरभित्र बनेका अतिक्रमित संरचना हटाउने अभियान निरन्तर रूपमा अगाडि बढिरहेको जनाएको छ।

महानगरपालिकाका अनुसार ठूला संरचनाको हकमा सांकेतिक रूपमा हटाउने कार्यको सुरुआत गरिसकिएको छ। त्यसपछि सम्बन्धित घरधनी तथा संस्थाहरूले आफूहरूले नै संरचना हटाउने मौखिक प्रतिबद्धता जनाएअनुसार निश्चित समयसमेत प्रदान गरिएको थियो। तर, हालसम्म पनि कतिपय संरचना नहटाइएको पाइएको भन्दै महानगरले आफूहरूले गरेको कबुलअनुसार तत्काल संरचना हटाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।

महानगरपालिकाले हाल वर्षायामका कारण संरचना हटाउन प्रयोग हुने ठूला उपकरण परिचालन गर्न व्यावहारिक कठिनाइ भएको र त्यसले कार्यान्वयनमा केही असहजता सिर्जना गरेको जनाएको छ। यद्यपि वर्षायाम समाप्त हुनासाथ पनि सम्बन्धित पक्षले संरचना नहटाएमा प्रचलित कानुनबमोजिम ती संरचनाहरू पूर्ण रूपमा हटाइने स्पष्ट चेतावनी दिएको छ।

यस विषयमा कुनै प्रकारको भ्रम वा द्विविधामा नपर्न सम्पूर्ण सरोकारवालासँग महानगरपालिकाले आग्रह गरेको छ। साथै, फिर्केखोलाको संरक्षण, विकास र संवर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माणको अभियानमा सहकार्य गर्न महानगरपालिकाले सम्पूर्ण नगरवासीसँग अपिल गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार