पोखरा महानगरपालिकाले करिब ८ किलोमिटर लामो फिर्के खोलाको खोला घरभित्र निर्माण भएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। अँधेरीकुनादेखि फेवातालसम्म बग्ने फिर्के खोलालाई अतिक्रमणमुक्त बनाउँदै प्राकृतिक बहावमा फर्काउने र व्यवस्थित, सुन्दर तथा वातावरणमैत्री कोरिडोर निर्माण गर्ने महानगरको योजनाअनुसार काम अघि बढाइएको हो।
यसै सन्दर्भमा नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा फिर्के खोला क्षेत्रमा पर्ने आठवटै वडाका वडाध्यक्षहरूको बैठक बसेको छ। बैठकले खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरणसहितको प्रतिवेदन तयार गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको छ। उक्त प्रतिवेदन सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पेश गर्न निर्देशन दिइएको महानगरले जनाएको छ।


यसअघि खोला घरभित्र निर्माण भएका संरचना आफैँ हटाउने भनी महानगरसमक्ष मौखिक सहमति गरेका तर हालसम्म संरचना नहटाएका व्यक्ति तथा संस्थालाई महानगरपालिकाले २०८३ भदौ १५ गतेभित्र अनिवार्य रूपमा संरचना हटाउन पुनः आग्रह गरेको छ। तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम महानगरपालिकाले नै ती संरचना हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सरकारी बाँकीसरह सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने जनाएको छ।
महानगरपालिकाका अनुसार २०८३ असोज १ गतेदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (दोस्रो संशोधन २०८२) बमोजिम मापदण्ड कार्यान्वयन गर्दै फिर्के खोला कोरिडोर निर्माणसम्बन्धी प्राविधिक तथा अन्य आवश्यक काम प्रारम्भ गरिनेछ।

फिर्के खोलाको संरक्षण, विकास र संवर्द्धनसँगै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा सहयोग गर्न महानगरपालिकाले आमनगरवासीमा आग्रह गरेको छ। महानगरले फिर्के खोलालाई प्राकृतिक स्वरूपमा फर्काउँदै व्यवस्थित कोरिडोर निर्माणलाई पोखराको वातावरणीय तथा सहरी व्यवस्थापनसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको जनाएको छ।



