पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म सञ्चालन हुँदै आएको सटल बस सेवा बन्द नभई पूर्वनिर्धारित कार्यक्रमअनुसार हाल सशुल्क रूपमा नियमित सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।

महानगरपालिकाले असार मसान्तसम्म यात्रुको सुविधालाई मध्यनजर गर्दै उक्त रुटमा निःशुल्क सटल बस सेवा सञ्चालन गरेको थियो । पोखरा महानगरपालिका र पोखरा बस सञ्चालक समिति बीच भएको पूर्व सहमतिअनुसार श्रावण १ गतेदेखि भने सो सेवा सशुल्क रूपमा सञ्चालनमा आएको हो । हाल विमानस्थलबाट अमरसिंहचोक, पृथ्वीचोक, मुस्ताङचोक हुँदै लेकसाइड बाराहीघाटसम्म ननस्टप सटल बस सेवा नियमित रूपमा उपलब्ध रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार, यस सेवाका लागि आयात गरिएका नयाँ बसहरू नयाँ भन्सार तथा कर दर लागू भएका कारण हाल जाँचपास प्रक्रियामा रहेका छन् । ती बसहरू सञ्चालनमा आउन केही समय लाग्ने भएकाले, अन्तरिम व्यवस्थाका रूपमा पोखरा बस सञ्चालक समितिसँग रहेका स्तरीय बसमार्फत सेवा निरन्तर सञ्चालन गरिएको छ ।

यसैबीच, केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सटल बस सेवा फिर्ता भयोवा सेवा बन्द भयोभन्ने आशयका समाचार तथा सूचनाहरू सार्वजनिक भएकोप्रति नगर प्रमुख धनराज आचार्यले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । महानगरपालिकाले त्यस्ता समाचारहरू तथ्यपरक नभएको स्पष्ट गर्दै पूर्वघोषणा अनुसार निःशुल्क सेवा अवधि समाप्त भई सशुल्क सेवा नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।

महानगरपालिकाले आम नागरिक, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई भ्रममा नपरी आधिकारिक स्रोतबाट प्राप्त सही सूचना मात्रै सम्प्रेषण गर्न तथा त्यसैका आधारमा जानकारी लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार