सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्र पठाएको हो ।

यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तय भएको थियो । तर, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले उक्त स्तरोन्नतिलाई सन् २०२९ नोभेम्बरसम्म स्थगित गर्न भनेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाललाई एलडीसीबाट स्तरोन्नति गर्ने समय आगामी नोभेम्बर २०२९ सम्मका लागि सार्न पत्राचार गरिएको बताए ।

परराष्ट्रमन्त्री शिषिर खनालले सन् २०२६ मे १३ मा संयुक्त राष्ट्रसंघअन्तर्गतको सीडीपीका अध्यक्षलाई पत्र पठाएर स्तरोन्नति तत्कालका लागि रोक्न औपचारिक पत्राचार गरेका हुन् । सरकारले स्तरोन्नति पछाडि सार्नुपर्ने पाँच प्रमुख कारण प्रस्तुत गरेको छ ।

क्षेत्रीय द्वन्द्व तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधले नेपालको अर्थतन्त्र प्रभावित भएको परराष्ट्रले जनाएको छ । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई पनि सरकारको प्रमुख आधार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार