विकास साझेदार विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरामा सञ्चालित परियोजनाहरूको नगर प्रमुख धनराज आचार्य सहित विश्व बैङ्कका चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । टोलीले तालचोक बेगनास सडक, शिशुवाचोक खुँदिखोला सडक र कालिकास्थान पुँडिटार लामगादी सडकको निरीक्षण गरेको हो ।
नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा तालचोक बेगनास सडक खण्ड (३.२८ कि.मी), शिशुवादेखि खुँदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर र कालिकास्थानदेखी लामगादी सम्मको १२ कि.मी सडक निर्माण कार्य भइरहेको छ । यी मध्ये करिब ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँको लागतमा शिशुवादेखि खुँदी खोला पुलसम्मको सडक निर्माण भइसकेको छ । सडकमा दायाँबायाँ नाली सहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।
दोविल्ला बागमारा–तिक्लाङ्–बडहरकोट–लामगादी–चापलाङ–उपल्लो पुँडीटार–तल्लो पुँडीटार–झिगटे तगारेगौडा–तल्लो गगनगौंडा सडक अन्तर्गत पर्ने कालिकास्थान लामगादी सडक खण्ड समेत निर्माण भइसकेको छ । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँमा सहयोगमा ७ मिटर चौडाइ, अस्फाल्ट पिच, सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक निर्माण गरिएको छ ।
तालचोक बेगनास सडक भने निर्माण सम्पन्न हुने क्रममा रहेको छ । सडक हरियाली फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुदैछ । यस खण्डमा ५ वटा कल्भर्ट तथा पुलहरू निर्माण भएका छन् । सडकको बिचमा १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइको फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ । सडकमा विश्व बैङ्कले रु.७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ सहयोग प्रदान गरेको छ ।
यसरी विश्व बैङ्कको सहयोगमा सञ्चालित परियोजनाहरू सम्पन्न हुने चरणमा रहेको जनाउँदै नगर प्रमुख आचार्यले थप परियोजना सञ्चालनका लागि विश्व बैङ्कसँग थप सहकार्यका लागि पोखरा महानगरपालिका इच्छुक रहेको बताउनुभयो । खुदीखोलादेखी रुपा गाउँपालिकाको सिमानासँग पुग्ने सडकको स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन उहाँले आग्रह समेत गर्नुभयो । विश्व बैङ्कका चिफ रिस्क अफिसर डेनिसले आफू सकारात्मक रहेको जवाफ दिनुभएको छ ।
अवलोकनमा नगर प्रमुख आचार्य सहित प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, आर्थिक प्रशासन महाशाखा प्रमुख जयराज पौडेल, इन्जिनियर नवीन गौतम र विश्व बैङ्कको टोलीमा म्याकलघलिन सहित विश्व बैङ्कको तर्फबाट लारिसा लुये, अमिर अहमेद, प्याट्रिक जोयल, अभिषेक सिंह, अमेना राज, बसन्त पौडेल, छिमेला रोसियो, ग्लोरिया मालिया, रेखा श्रीस र एन्जिला मिश्र महर्जन लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार