जेनेरेसन जेड (जेनजी) आन्दोलन पश्चात् उत्पन्न परिस्थितिका बिच प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग छलफल गर्नुभएको छ ।
पोखरा महानगरपालिका सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी सहित यस क्षेत्रका लब्धप्रतिष्ठीत व्यक्तिहरू सम्मिलित परिषद्सँग नगर प्रमुख आचार्यले छलफल गर्नुभएको हो । छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई चुस्त, छरितो र पारदर्शी बनाउने सम्बन्धमा सहभागीहरूले सुझाव दिएका छन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिका विषयमा जानकारी गराउनु भएको थियो । जेनजी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो । जसले गर्दा महानगरपालिकालाई आर्थिक रूपमा २ अरब बढीको क्षति भएको छ ।
असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखाहरू रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।



