पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु गौशाला लगिएको छ । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरी बलको सहयोगमा गौशाला लगिएको हो ।
पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा पोखराको नगर क्षेत्रमा रहेका छाडा पशु चौपायहरुलाई व्यवस्थापन गर्ने गरिएको छ । पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक सुरक्षामा चुनौती थपिएको, नगरका डिभाइडर तथा पार्कहरूमा लगाइएका फुल तथा बिरुवाहरू खाइदिने, फुटपाथमा पैदलयात्रीहरुलाई आक्रमण गर्ने लगायत समस्याहरू देखिएपछि नगरप्रमुख धनराज आचार्यको निर्देशनमा विशेष अपरेसन नै चलाएर ती पशुहरूको सङ्कलन तथा व्यवस्थापन गरिएको महानगरिय प्रहरी बलका प्रमुख इन्स्पेक्टर पुरुषोत्तम थापाले बताउनुभयो ।
पशुपालन व्यवसाय गरिरहेका कतिपय नगरवासीहरूको असावधानीका कारण सिङ्गो महानगरपालिकाले समस्या झेल्नु परेको गुनासो उहाँको छ । आर्जन हुन्जेल खाने तर बुढो वा थाक्न थालेपछि सडकमा छोड्ने मानिसहरूको अमानवीय कार्यले सडक सुरक्षामा चुनौती थपिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘हामीले आजदेखि विशेष अभियान थालेका छौँ, थापाले भन्नुभयो, अव सडकमा आउने पशुचौपायको धनीको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने हाम्रो प्रयत्न रहन्छ ।’ छाडा पशुको धनी पत्ता लाग्ने बित्तिकै कारबाही गर्ने र फेरी फेरी यस्तो अमानवीय कार्य नगर्ने स्थितिमा पुर्याउने उहाँले बताउनुभयो ।
सहरी सौन्दर्यीकरणको बाधकको रूपमा देखा परेको छाडापशुचौपायको समस्या समाधानका लागि महानगरपालिका निरन्तर लागिरहेको भए पनि पशुपालन कृषक वा व्यवसायीहरूको लापरबाहीका कारण आफूहरू पटक पटक आलोचित हुनु परेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । ‘हामीले दैनिक जसो सडकमा देखिने चौपायहरुलाई सङ्कलन र नियन्त्रण गरी गौशाला लैजाने गरेका छौँ, तर पनि समस्या जस्ताको तस्तै देखिन्छ, उहाँले भन्नुभयो, यो त अति भयो, यो हद भन्दा बढी भयो, यहाँ हरेक कुराको सीमा हुन्छ, अटेर गर्ने र आफ्नो भकारोको पशु फुकाएर विभिन्न वाहानामा सडकमा छोड्नेहरू अव कारबाहीको दायरामा आउँछन्, आउनुपर्छ ।’ आचार्यले थप्नुभयो, ‘नगर बनाउने दायित्व सरकारको मात्र होइन, यो नागरिकहरूको कर्तव्यसँग पनि जोडिने विषय हो ।’
छाडा पशुको धनी पहिचान गर्ने र तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउने उहाँले चेतावनी दिनुभयो । ‘यदि कुनै पनि पशुको धनी पहिचान भई जरिवाना वा कुनै पनि प्रकारको कारबाहीको भागिदार हुन पर्यो भने त्यो उसका लागि लज्जाको विषय हुनेछ, मानवीय हिसाबले पनि त्यो निन्दाको विषय बन्नेछ, उहाँले भन्नुभयो पूर्वीय सभ्यताले गाईलाई लक्ष्मीको रूपमा माता समान पूज्य मानेको छ, तर यहाँ त हदैसम्मको दुख भोगोस् भन्ने अभिप्रायले व्यस्त सडकको बिचमा छोडिन्छ, के यही हो मानवता ?, पशु प्रतिको प्रेम र ममतामा यस्तै हुन्छ ?, हुदैन्, अबोध पशु माथि अमानवीय व्यवहार देखाइ मानिस पशु बन्न सक्दैन ।’ घरपालुवा पशुहरूलाई प्रेमपूर्वक लालन पालन गर्न उहाँले आग्रह गर्नुभयो । यदि समस्या नै भयो भने महानगरपालिकामा सम्पर्क गरी सुरक्षित रूपमा गौशालासम्म पुर्याउने कार्यमा सहजिकरण गरिदिन अनुरोध पनि गर्नुभयो ।
हाल गौशालामा ४ सय बढी चौपायहरुलाई व्यवस्थापन गरिएको छ । गौशाला सञ्चालनका लागि थुप्रै चुनौतीहरू भए पनि राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक भागवत भास्कर युवा पण्डित कमल नयन गौतमले यसको व्यवस्थापन गरिरहनु भएको छ । गौतम मै संरक्षकत्वमा गौशालामा आश्रित ४ सय पशुहरूले सन्तोषको जीवन जिइरहेका छन् । उनीहरूलाई दाना र पानीको व्यवस्था गौशालामा गरिएको छ ।



