वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् ।
अस्पताल पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका प्रमुख आचार्यका अनुसार साहित्यकार पङ्गेनीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनको उपचारमा विशेष ध्यान दिन उपचारमा संलग्न चिकित्सकहरूलाई आग्रह गरेको प्रमुख आचार्यले बताएका छन् ।

उनको उपचारमा आर्थिक जटिलता देखिएकाले सहयोगका लागि परिवारको आग्रहमा पोखरेली युवा सास्कृतिक परिवारले आह्वान समेत गरेको छ ।

पङ्गेनी चित्रकला, गीत, गजल, कविता र मुक्तक लेखनका सिद्धहस्त सर्जक हुन् । नाटक लेखन र मञ्चनमा पनि उनको उत्तिकै दख्खल छ । रुपा गाउँपालिका वडा नं.५ देउराली स्थायी घर भएका प्रकट विगत डेढ दशकदेखि पोखरा बाटुलेचौरमा बस्दै आएका छन् ।
नेपाली साहित्यको गजल विधामा उनको छुट्टै पहिचान छ । पछिल्लो समय आख्यानमा पनि प्रकटले कलम चलाउँदै आएका छन् ।



