युवा संघ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफुल तथा खाद्यन्न वितरण गरेको छ ।

अध्यक्ष मिलनजंग कुवँरको नेतृत्वमा सो कार्यक्रम गरिएको संगठनले बताएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी ईन्चार्ज तुल बहादुर गुरूङ, पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमाल, प्रदेशका सदस्यहरु प्रेम पौडेल र नवराज पहारी लगायतका नेता कार्यकर्ताहरु सहित अनेमसंघको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी ईन्चार्ज तुल बहादुर गुरूङले जेष्ठ नागरिकहरु प्रति युवाहरुको सम्मान र उनिहरु प्रति गहिरो चिन्ताका रुपमा आफुले लिएको बताउनुभयो । अग्रज पुस्ताको अनुभवलाई ग्रहण गर्दै उपयुक्त मार्गदर्शनका लागि समेत जेष्ठ नागरिकहरुको सम्मान आवश्यक रहेको उहाँले बताउनुभयो ।

पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमालले वैचारिक रुपमा राजनीतिक संलग्नता र सामाजिक सेवाभावको तादम्यता युवा पुस्ताहरुमा जिवित रहेको उदाहरणका रुपमा आफुले आजको कार्यक्रमलाई लिएको बताउनुभयो । सामाजिक रुपमा उपेक्षित नागरिकहरुको आश्रय स्थलका रुपमा रहेको पवित्र वृद्धाश्रममा युवाहरुको सहयोग निकै प्रभावकारी र अर्थपूर्ण हुने उहाँले बताउनुभयो ।

संघका अध्यक्ष मिलनजंग कुवँरले सम्मानित अभिभावकहरुको सेवामा सर्मपित हुन पाउँदा खुसी लागेको बताउनुभयो । आफुहरुको सहयोग परिमाणका हिषावले सानो भएपनि आवश्यकता र खाँचोमा यो निकै महत्वपूर्ण हुने बताउनुभयो ।

युवाहरुलाई सामाजिक सेवामा लाग्न प्रेरणा र सहि मार्गदर्शनको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले जेष्ठ नागरिकहरुको आर्सिंवादले असल दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारको सहयोग पार्टी र संगठनको तर्फबाट निरन्तर गर्दै जाने उहाँले बताउनुभयो ।

यसैविच नयाँ वर्षको अवसरमा पार्टी कार्यालयमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार