गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय सुशीला सिंखडाले बालबालिकाहरुका अपेक्षाहरु पूरा गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । ‘प्रदेश सरकारसँग बालबालिकाको अपेक्षा’ विषयक एक दिवसीय वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदै मन्त्री सिंखडाले भन्नुभयो ‘बालबालिका भनेको आजका कोपिला हुन्, काँचो माटो जस्ता हुन् उनीहरुलाई भविष्यमा कस्तो बनाउने भन्ने कुरा अभिभावकको मात्र नभई राज्य सञ्चालन गर्ने सरकारको पनि हो । यसमा प्रदेश सरकारले बालबालिकाहरुको अपेक्षा पुरा गर्न कोसिस गरिरहेको छ’ । आफूले मन्त्री पद सम्हालेपछि बालबालिकाको क्षेत्रमा विकास हुने किसिमका नीति तथा कार्यक्रमहरू ल्याई सकिएको र कार्यान्वयनको दिशातर्फ रहेको बताउनुभयो । बालबालिकाहरुले कार्यक्रममा प्रस्तुत गर्नुभएका अपेक्षाहरु कतिपय यसै आर्थिक बर्षकै कार्यक्रम र बजेटमा रहको छन् भने कतिपय कुराहरु अर्को वर्षको कार्यक्रममा राखिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशभरिबाट ३३ विद्यालयहरूको सहभागिता रहेको थियो । वक्तृत्वकला कार्यक्रममा सरस्वती मावि तनहुँकी भरोसा बानियाँले प्रथम स्थान हासिल गरी रु ३० हजार पुरस्कार जित्न सफल भइन, त्यस्तै दोस्रो स्थानमा शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनीदेब मा.बिकी, पुनम सेन ठकुरी भइन्, उनले २० हजार पुरस्कार जितिन्, महालक्ष्मी मावि गोरखाकी अमृता गुरुङले तेस्रो स्थान हात पार्दै १० हजार पुरस्कार जितिन् । अनिष्मा दर्जी, समीक्षा गौतम र सुजता थापाले सान्त्वना स्थान हात पार्दै ५ हजार पुरस्कार प्राप्त गरे । कार्यक्रमलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका सहप्राध्यापक कृष्णप्रसाद पौडेल, पिएन क्याम्पसका उपप्राध्यापक सुरज पौडेल र गीता पौडेलले मूल्याङ्कन गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश बाल परिषद्का अध्यक्ष सुदिप पौडेलले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार