पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका लागि मूल्य भन्दा पनि साझेदारी महत्त्वपूर्ण हो, प्रमुख आचार्यले भन्नुभयो, यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो ।” उहाँले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको प्रमुख आचार्यले बताउनुभयो । “यसले एक स्थानको एक अति आवश्यकताको पुरा गर्नेछ, यो एक आफैमा सम्पूर्ण होइन तर, व्यवस्थित सहरमा एक असल नमुना भने अवश्य हो, प्रमुख आचार्यले भन्नुभयो, शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिनेछ ।” यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार शौचालय अगाडी वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।
गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) की अध्यक्ष समेत रहनु भएकी मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखराको मुटु महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने उहाँको विश्वास छ । भविष्यमा पनि पोखराका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।
“यसलाई विदेशमा रहेका नेपालीहरूले दिएको एक चिनोका रूपमा लिन सक्नुहुन्छ, यो विदेशमा रहँदा आर्जन गरेको ज्ञान सीप र नाङ्गो आँखाले देखेको त्यहाँको विकासको एक नमुना हो, अध्यक्ष थापाले भन्नुभयो, मातृभूमिको प्रेमका खातिर सरकारी प्रक्रियाको जटिलताका बाबजुद यो पोखराले ग्रहण गरेको एनआरएनएको हार्दिकता र पूर्वाधार निर्माणमा एक असल साझेदारीको प्रतीक हो ।” अध्यक्ष थापाले यसको व्यवस्थापन र सञ्चालनमा नागरिकहरूको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पोखराको महेन्द्रपुलमा रहेको सार्वजनिक जग्गा सही सदुपयोग गरिएको बताउनुभयो । महानगरमा हुनु पर्ने आधारभूत पूर्वाधारहरू सार्वजनिक शौचालय, पार्क, खुला स्थानहरू, चिल्ड्रेन पार्क लगायत निर्माणमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । क्रमशः यस प्रकारका पूर्वाधारहरू महानगरपालिकाको एकल लगानी र लागत साझेदारीमा निर्माण गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।
महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सर सहितका बेसिन तथा धाराहरू जडान गरिएको छ । बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ । महेन्द्रपुलको उत्तर तर्फ कि.न.८२ को ५ आना क्षेत्रफलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको हो । सो स्थानमा पार्क समेत निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय निर्माणका लागि एनआरएनएले रु.६० लाख उपलब्ध गराएको छने पार्क निर्माणका लागि थप रु.२० लाख प्रदान गर्नेछ । बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ । शौचालय लाखे विल्डर्स नेपाल प्रा.लिले निर्माणको जिम्मा पाएको थियो ।
हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार