पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले २०७३ सालमा राज्य पुनर्संरचना हुँदा पोखरा महानगरपालिकामा गाभिएको तत्कालीन लेखनाथ नगरपालिकालाई पुनः विभाजन गरी साबिक कै अवस्थामा फर्काइनु पर्दछ भन्ने आवाजलाई बेमौसमी बाजाको संज्ञा दिनुभएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ स्थापना दिवस एवं २६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस प्रकारको कार्यले कसैलाई फाइदा नपुग्ने भन्दै बेमौसमको बाजा नबजाउन र पोखरा–लेखनाथको भौगोलिक एकता र भावनात्मक सम्बन्धमा आँच नल्याउन आग्रह गर्नुभयो ।
“पोखराको सिङ्गो गुरुयोजना सहित समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने दिशामा हामी अगाडी बढिरहेका छौँ, उहाँले भन्नुभयो, यो यथार्थलाई नकार्दै, सत्यलाई छायामा पारेर सामाजिक सञ्जालमा जभाभावी लेख्दै पोखरा र लेखनाथको दुरीलाई ताढा बनाउने र हाम्रा मनहरू भाँच्ने खालका गतिविधिहरू गरेर बेमौसमको बाजा बजाउँदै नहिँडौँ, यसले कसैलाई फाइदा गर्दैन ।” विकासका सवालमा लेखनाथ क्षेत्र महानगरको उच्च प्राथमिकतामा रहेको क्षेत्र भएको उहाँले उल्लेख समेत गर्नुभयो ।
“महानगरपालिकाको नेतृत्वको तर्फबाट कुनै प्रकारको भेदभाव गरिएको छैन, विकासमा भनिएको जस्तो विभेद भएको छैन, कहिकतै नमिलेका विषयहरू छन् भने, खुला छलफलका लागि हामी सदैव तयार छौँ । टेबलमा बसेर खुला बहर गरौँ ।”प्रमुख आचार्यले भन्नुभयो ।
लेखनाथ क्षेत्रमा ठुला परियोजना सञ्चालनको सन्दर्भमा ताल चोक बेगनास सडकदेखि त्यस क्षेत्रमा रहेका ताल तलैया र प्राकृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन सहित सम्भाव्य विकासका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार