सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा पनि भारतीय लगानी भित्र्याउने तयारी गरेको छ । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीसँग मिलेर आयोजना बनाउने गरी सरकारले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडमार्फत लगानी ल्याउन लागेको हो ।

यो कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्न नेपाल आएको कम्पनी हो भने सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमतिपत्र पनि माग्दै लगानी बोर्डमा आवेदन दिएको छ । यो कम्पनीलाई फुकोट कर्णालीमा सहलगानीका लागि भित्र्याउन समझदारीपत्र (एमओयू)को मस्यौदा तयार भइसकेको छ । यदि प्रस्ताव बमोजिम एमओयू भए विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा हुने छ । त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढ्नेछ ।

गत शनिबार भारतको राजस्थानमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णालीमा भारतीय लगानी ल्याउन एनएचपीसी र विद्युत उत्पादन कम्पनीबीच दुई महिनाभित्र एमओयू गरिसक्ने आश्वासन नेपाली पक्षले दिएको छ ।

तर, यसलाई दुई देशबीचको ऊर्जा नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिले ‘नोट’मा राखेको यो विषयलाई मन्त्रालयले बैठकपछिको आफ्नो प्रेश वक्तव्यमा उल्लेख गरेन । यसले यो सहमतिलाई सरकारले गोप्य राख्न खोजेको स्पष्ट भएको छ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार विद्युत उत्पादन कम्पनीले समझदारीपत्रको मस्यौदा मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयले समझदारीको मस्यौदालाई अन्तिम रुपमा दिएर एनएचपीसीसँग छलफल अघि बढाउने बताएको छ । भारतीय कम्पनी एनएचपीसीले पनि सार्वजनिक रुपमै फुकोट कर्णालीमा लगानीका लागि सम्झौता गर्न नेपाल सरकारलाई समझदारीपत्रको मस्यौदा पठाइसकेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार