संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।
खनालले मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । ‘उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले सोहीअनुसार संविधानको मातहत रहेर कदम चाल्नुहुनेछ,’ उनले भने । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ ।



