क.गौरव नेतृत्वको नेकपा माओवादीले दार्चुला जिल्लाको महाकाली नदिमा भारतीय पक्षले निर्माण गरेको तटबन्ध तत्काल भत्काउन नेपाल सरकार समक्ष माग गरेको छ । महाकाली नदिको बहाव नै परिवर्तन गर्ने गरी भारतीय पक्षले एक तर्फी रूपमा तटबन्ध निर्माण गरेको घटना प्रति सरकार मौन बस्नुलाई आफूले गम्भीर रूपमा लिएको माओवादीले बताएको छ ।
‘अनधिकृत रूपमा भारतीय पक्षले महाकाली नदिको बहाव नै परिवर्तन गर्ने गरी तटबन्ध निर्माण गर्नु र प्रतिरोधमा उत्रिएका स्थानीय र बालबालिकाहरू माथि दमन गरी घाइते बनाएको घटना प्रति नेकपा माओवादीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सो कार्य तत्काल नरोके कडा प्रतिरोधमा उत्रिने पार्टीले चेतावनी समेत दिएको छ । मुलुक आकारको हिसाबले सानो र ठुलो हुने भए पनि स्वतन्त्रता, सार्वभौमसत्ता र अस्तित्वका हिसाबले समान हुने भन्दै भारतीय ज्यादती अति भएको पार्टीले जनाएको छ । भारतीय गतिविधि प्रति सरकार लाचार भएर प्रस्तुत हुनु लज्जाको विषय भएको उसले टिप्पणी गरेको छ ।
भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रूपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद भएको थियो । निर्माणको काम रोक्न माग गर्दै स्थानीयबासिन्दाले प्रदर्शन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार