पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज शनिबार पोखरा आइपुगेको छ । पोखरा विमानस्थलमा राखिएको जहाजले सोमबारदेखि १२ गतेसम्म परीक्षण उडान गर्नेछ ।

उक्त यान्त्रिक विमानले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

विमानस्थलमा जोडिएका ग्राउन्डबेस नेभिगेसन यन्त्रहरु प्रयोग गर्न योग्य रहेको वा नरहेकोबारे परीक्षण गर्ने उनले सुनाए । ‘भोलि आवश्यक परेको बेलामा सिग्नल दिन्छ कि दिँदैन भनेर अवस्था निक्र्यौल गर्ने हो, प्रमाणीकरण गर्ने हो’, उनले भने ।

क्यालिब्रेसनका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले सरसफाइ अन्य यन्त्र परीक्षण गर्ने काम गरिरहेको छ । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन विमानस्थलको हाल ९८.५ प्रतिशत भौतिक प्रगति सकिइसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । ‘बाँकी काम क्यालिब्रेसन पछि डिसेम्बरसम्म सक्ने गरी अघि बढेका छौं’ उनले भने ।

अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि नियमित उडान सुरु गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । सन् २०१४ मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो ।

२०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि तोकिएको समयमा काम पूरा नभएपछि एक वर्ष म्याद थपिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार