निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ ।
भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको बताए ।

आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।
बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगको चेतावनी छ ।
निर्वाचन आयोगले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेको पनि बताएको छ ।
‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ प्रमुख आयुक्त थपलियाले भनेका छन् ।



