पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘निर्वाचन पश्चात् सरकार बनाई लोकतन्त्रलाई संस्थागत गर्दा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि ल्याउन विकास निर्माणको योजना प्रणालीमा आमूल परिवर्तन ल्याई आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समाजवादका आधारहरू तय गरिनेछन् ।’ भ्रष्ट्राचार शून्य सहनशीलताका आधारमा सुशासन र प्रभावकारी सेवा प्रदान गर्ने, सेवा सुविधामा आम नागरिकको पहुँच वृद्धि र केन्द्रीकृत अधिकारको विकेन्द्रीकरण लगायतमा गठबन्धनका उमेदवारहरुले विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने, राष्ट्रिय हितको नीति तथा योजना तय गरी सबै पक्षलाई राष्ट्रिय हितको निम्ति एकताबद्ध बनाउँदै वैदेशिक दृष्टिकोण तय गर्न उनीहरूले राष्ट्रिय प्रतिबद्धता जाहेर गरेका छन् । आफ्नो पालामा आवश्यक जनमुखी कानुनहरू निर्माण गर्ने, कृषि उत्पादनमा वृद्धि गर्न आधुनिक कृषि योजना कार्यान्वयन गर्ने, युवाहरूको विदेश पलायनलाई रोक्ने र देशभित्रै रोजगारी सृजना गर्ने लगायतका विषयहरू उनीहरूको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
साथै उनीहरूले भनेका छन्, ‘सूचना प्रविधि, ऊर्जा, शिक्षा, स्वास्थ्य, रेल हवाई सेवा, यातायात लगायत पूर्वाधार, पर्यटन विकास, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण, आयात प्रतिस्थापन एवं निर्यात प्रवर्धन र जलविद्युत विकासलाई युद्ध स्तरमा अगाडी बढाइनेछ ।’ सभ्यता एवं संस्कृतिको संरक्षण र संवर्धन, शिक्षित सभ्य तथा मर्यादित नागरिक, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन र जबाफदेहिता कायम गर्ने, स्रोतसाधनको समुचित व्यवस्थापन, सुरक्षित न्यायपूर्ण एवं समतामूलक समाज निर्माण, भाषा, धर्म, संस्कृति र पहिचानको संम्बर्धन, खेलकुद, कला साहित्य र संस्कृतिमा बहुमुखी प्रतिभाको विकास, प्रदेश विकास बोर्ड गठन सहित कास्कीको निर्वाचन क्षेत्र नं.२ एवं प्रदेशसभा निर्वाचन २(१) र २(२) को योजनाबद्ध विकास गर्दै भौगोलिक आवश्यकताका आधारमा योजना तथा कानुनहरू निर्माण गरी इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता उनीहरूले जाहेर गरेका छन् ।
अबको पाँच वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने उनीहरूले बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । उनीहरूको चुनावी अभियान केही दिनदेखि मतदाताहरूको भेटघाटमा व्यस्त देखिएको छ । सो क्रममा उनीहरूले स्थानीय आवश्यकता, पहिचान, समस्या र समाधान लगायतका विषयहरू चासो पूर्वक सुन्ने, सुनाउने र बुझ्ने गरिरहेका छन् । आगामी निर्वाचन पश्चात् जनताका हरेक समस्याहरूको उपयुक्त समाधान खोजिने उनीहरूको प्रतिबद्धता छ । यही मङ्सिर ४ गते देशभर एकसाथ आम निर्वाचन हुँदैछ ।



