बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको यो आयोजनाका सबैभन्दा ठुलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु.पाँच अर्ब अनुदान सहयोगमा यो आयोजना पोखरामा निर्माण सुरु गरिएको हो ।
पोखरेलीले सिधै धाराबाट थापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८८ प्रतिशत काम सकिएको छ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरीकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउन योग्य बनाउने रहेको छ ।
गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा (रिजर्भ वायर ट्याङ्की) र मुहानमा केही काम मात्र बाँकी रहेको छ । जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कपोेरेशनले गरिरहेको पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।
आयोजनाको हालसम्म मर्दी मुहानमा (ग्रिड च्याम्बर’, सेडिमेन्टेशन ट्याङ्की’ र स्लो स्याण्ड फिल्टर’ को ९५ प्रतिशत काम सकिएको छ । पोखराभित्रका तीन वटा ठुला रिजर्भ वायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । रिजर्भ वायर ट्याङ्की’को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो । यसै गरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५÷१६ किमी मात्र बाँकी छ ।
आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ । हाल साबिक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ । मर्दी मुहानबाट २० र १६ इन्चका  पाइपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दीको पानी वितरण हुन्छ ।
खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । प्रशोधित पानी  त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी सफा बनाउन मुहान नजिक ग्रीट च्याम्बर’ र  दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्की’ (ढुङ्गा, बालुवा हटाउने पोखरी) निर्माणको काम सकिनै लागेको छ । मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन स्लो स्याण्ड फिल्टर’मा लगिनेछ ।
त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्राउने ट्याङ्की तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लो स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ ।
सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भ वायर ट्याङ्की निर्माण गरेको हो । खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । तीमध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसै गरी कालीखोला र भोटीखोलाका पाँच–पाँच हजार ग्राहक छन् । दुई हजार घरमा बोरिङको पानी पु¥याइएको छ ।
सो आयोजनाको शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख सहितको नेतृत्व र जाइकाको संयुक्त टोलीले स्थलगत अनुगमन समेत गरेको छ । आयोजना निर्माण स्थल मै पुगेर महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, आयोजना निर्माणाधीन वडाका वडाअध्यक्षहरु मोतीराज तिम्सिना र पुष्पेन्द्र पाण्डे लगायत जाईकाको टोलीले अवलोकन गरेको हो ।
यस आयोजना निर्माण पश्चात् पोखरेलीले शुद्ध खानेपानी उपभोग गर्न पाउने विश्वास प्रमुख आचार्यले व्यक्त गर्नुभयो । आयोजना निर्माणका क्रममा देखिएका समस्याहरू समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक समन्वय समेत गरिने उहाँले बताउनुभयो । पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने विषयमा पोखरा महानगरपालिका गम्भीर रहेको प्रमुख आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार