जापानको लिबरल डेमोक्रेटिभ पार्टीका पूर्व सांसद मोटोयुकी ओडाची र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरामा भएको भेटवार्तामा नेपाल जापान सम्बन्धका विषयमा चर्चा गरिनुका साथै विकास सहकार्यका थप सम्भावनाहरूमा समेत छलफल भएको प्रमुख आचार्यले बताउनुभयो ।
ओडाचीले नेपालमा लामोसमयदेखी विभिन्न परियोजनाहरूमा काम गरिरहेको जाईकासंग थप कार्यक्रमहरूमा सहकार्यका लागि अनुरोध गर्ने जनाउनुभयो । ओडाचीले तत्कालीन समयमा नेपाल सरकारले नेपाल–जापान सिधा हवाई उडानका लागि अनुरोध गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणका कारण त्यो ओझेलमा परेको र हाल अवस्था सामान्य भइसकेकाले त्यसलाई कार्यान्वयनका लागि जापान सरकारको ध्यानाकर्षण गराउने विश्वास दिलाउनुभयो । साथै उहाँले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई जापान भ्रमणको निम्तो समेत दिनुभयो ।
जापानका नागरिकहरूमा नेपाल हिमालयको देश भन्ने बुझाइ रहेका कारण त्यहाँका बूढाबूढीहरूलाई यहाँको भ्रमण असहज हुन्छ भन्ने भावना रहेको भन्दै पुर्वमन्त्री ओडाचीले यो केवल हिमाल मात्र होइन पोखरा जस्तो सुन्दर तथा मनोरम पर्यटकीय स्थलहरूको पनि देश हो भन्ने कुराको प्रचारप्रसार गर्नु आवश्यक रहेको बताउनुभयो । जापानका कलाकार तथा सेलिब्रेटीहरुलाई पर्यटन दूत घोषणा गरी पोखरा लगायत सिङ्गो नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने सुझाव उहाँले दिनुभयो । ओडाचीले पोखराबाट सुन्दर माछापुच्छ्रे सहित मनोरम हिमश्रृखला देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कोमा गाने पार्कलाई जापानको प्रतिनिधित्व गर्ने गरी थीमपार्क बनाउन सकिने, यहाँको फोहोर मैलाको व्यवस्थापनमा जापनिज प्रविधिको प्रयोग गर्न सकिने, जापानका उद्योगी व्यवसायीहरूले पोखरामा पर्यटन उद्योगमा लगानी गर्न सक्ने थुप्रै सहकार्यका सम्भावनाहरू रहेको जानकारी गराउनुभयो । साथै पोखरामा रहेका तालहरू जोड्ने पूर्वाधारको निर्माण, अन्तर्राष्ट्रिय विमानस्थलदेखि बाक्लो बस्ती भएका स्थानसम्म पुग्ने प्रभावकारी पहुँचको विस्तार लगायतमा सहयोग तथा सहकार्य आवश्यक रहेको आचार्यले बताउनुभयो ।
ओडाचीले पनि पोखरालाई पर्यटन हबको रूपमा विकास गर्न सुझाव दिनुभएको छ । साथै उहाँले पोखराको फोहोर मैलाको व्यवस्थापनका लागि जापनिज प्रविधिको उपयोग गर्न अफर समेत गर्नुभयो । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति तोकेपछि पोखरामा फोहोर मैला व्यवस्थापन चुनौतीका रूपमा देखा परेको छ । यसका लागि पोखरा महानगरपालिकाले सघन छलफल तथा अध्ययनहरूलाई तीव्रता दिएको प्रमुख आचार्यले बताउनुभयो ।
भेटवार्तामा जापानका होटेल व्यवसायी यसयुओ हातानाकाको पनि सहभागिता थियो भने भाषिक सहजीकरण सन्तोष पौडेलले गर्नुभएको थियो ।



