उपचार खर्च तिर्न नसकेर अस्पतालमै बसेका गोरखा जिल्ला पालुङ्टार नगरपालिका ४ का राजेश न्यौपानेलाई लायन्स क्लब अफ पोखरा पेन्गुईनले रु १० हजार सहयोग गरेको छ । राजेश बिगत ५ दिन अघि पोखरा नयाँगाउँमा रहेको हरियो खर्क अस्पतालमा कानको अप्रेसनका लागी आएका थिए । राजेश भर्खरै एसइई दिएका बिद्यार्थी हुन् । उनका बाबुका अनुसार राजेको करिब ४÷५ बर्षमा कान पाकेर पीप जम्मा भएको रहेछ । पछि समयमा उपचार नपाएपछि राजेशले दुबै कान सुन्न छोडे । केही महिना अघि मात्र आएर हरियो खर्कमा उपचार गराएका राजेशलाई चिकित्सकहरुले अप्रेसनका लागी भदौं १ गतेको समय दिएका थिए । राजेशका बुबाले करिब १८ हजार बोकेर छोराको अप्रेसनका लागी गोरखा पालुङ्टार देखी पोखरा आए । उपचार
क्रममा बस्ने औषधी गर्ने गर्दा उनले ल्याएको सबै पैसा सकियो । अप्रसन खर्च ४५ हजार आएको उनले बताए । घरबाट ल्याएको सबै पैसा सकिएपछि अस्पतालको पैसा तिर्न उनीहरुले सकेनन् ।
लायन्स क्बल अफ पोखरा पेन्गुईनका अध्यक्ष ला. दिपक भण्डारीको अग्रसरतामा अस्पताल प्रशासनसंग कुरा गरेर रु.३५ हजार छुट दिलाउन सफल भएको पेन्गुईनका सचिव ला. सुवास अम्गाईले जानकारी दिनुभयो । ला. अम्गाईका अनुसार बाँकी रकम रु १० हजार उपचारार्थ रहेका राजेशको परिवारलाई हरियो खर्क अस्पताल कान बिभागका प्रमुख एकदेब देबकोटाको बिशेष उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।




