भिमसेन थापा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता गाउँटोलबाटै बितरण गरिएको छ । बैंकको सहकार्यमा हरेक महिना वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउनु भयो । जेष्ठ नागरिक तथा असक्तहरु घ्याम्पेशालमा रहेको बैंकसम्म पुगेर सेवा लिन समस्या भएकाले पालिकाले बनाएको नीति तथा कार्यक्रममा नै उल्लेख भए बमोजिम कार्यक्रम सुरुवात गरिएको अधिकारीले बताउनुभयो । सुरुवातमा वडा कार्यालयबाट नै बितरण गर्ने र आवश्यकताको आधारमा र संभव भएसम्म टोल वा गाउँमा नै पुग्ने लक्ष्य राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमबारे जानकारी दिदै उपाध्यक्ष अमृता देबी भट्ट वस्तीले चुनावकै बेला आफूहरुले सामाजिक सुरक्षा भत्ता गाउँमा नै बितरण गर्ने प्रतिबद्धता गरिएको बताउनुभयो । कानुनी जटिलताका कारण पनि कतिपय कामहरु सम्पन्न गर्न समय लाग्ने भन्दै बैंकसम्म पुग्न नसक्ने लाभग्राहीहरुको लागी वडा कार्यालयबाटै सेवा दिएको जानकारी दिनुभयो ।
पालिकाले नागरिकको हितमा काम गर्ने बताउँदै पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भौगोलिक दुरता, सडक तथा यातायातको असुबिधकाका कारण सामाजिक सुरक्षा भत्ता दिन जान कठिनाई हुनेहरुको लागी यो कार्यक्रम फलदायी हुने बताउनु भयो । बैंकमा गएर लिन पनि पाईने वा बैंकमा जम्मा गरेर राख्न पनि पाईने भएकाले यो कार्यक्रम हरेक महिना हुने जानकारी दिनुभयो । पालिकामा रहेका मेगा र सांग्रिला बैंकसंगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता बितरण हुदै आएको छ ।




