२०७४ को स्थानीय तहको निर्वाचनमा पैयुँ गाउँपालिका पर्वतमा काँग्रेस नेतृत्वको सरकार बन्यो । गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमती गुरुङको नेतृत्वको सरकारले पाँच वर्षमा उल्लेखनिय काम गरेको छ । पैयुँ गाउँपालिकाको शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । जनताका सुखदुखमा साथ रही गाउँपालिकाले स्थानीय सरकारको अनुभुति दिलाएको छ । स्थानीय तह हुनुभन्दा अगाडि सामान्य नागरिकता बनाउन सदरमुकाम कुश्मा जानुपर्ने बाध्यताबाट नागरिकले मुक्ति पाएका छन् । सुशासन मैत्री सेवा प्रवाहले गाउँपालिकालाई बलियो बनाएको आभाष हुन्छ । गाउँपालिका भित्रका वडालाई समेत निर्देशन दिएर अभिभावकत्व प्रदान गरेको छ । संघीयता नयाँ भएकाले काम गर्ने क्रममा केही समस्या अवश्य रहे । तर त्यसलाई पाठ भनि सिक्ने अवसर मिल्यो । बितेको पाँच वर्षले स्थानीय तहको महत्व र भूमिकालाई प्रष्ट दर्शाएको छ ।
पैयुँ गाउँपालिकाको विकास र समृद्धिका लागि फेरि जनताले मतदान गर्ने दिनको नजिक छौं । स्थानीय तहको निर्वाचन बैसाख ३० मा हुँदैछ । पैयुँ गाउँपालिका बासीमा एक प्रकारको रौनक देखिन्छ । हामी चुनावी प्रचारप्रसारमा घरदैलोमा खटिँदा एउटा उत्साह पाएका छौं । गठबन्धनको आवश्यकतालाई उहाँहरुले बुझ्नुभएको छ । हिजो नेपाली काँग्रेसलाई अत्याधिक मत प्रदान गरी विजयी गराएसँगै पुनः गठबन्धनको सरकार बनाउने दिशामा अग्रसरता देखिन्छ ।

हामी प्रतिस्पर्धाका लागि मात्र प्रतिस्पर्धा गर्दैनौं । काम गरेर समेत देखाउँछौं । विगतमा काँग्रेसको सरकार हुँदा गरेका कामका विषयमा सबैलाई ज्ञात नै छ । अरु कुरा गर्छन्, हामी काम गर्छौं भन्ने कुरा प्रष्ट झल्किएको छ ।
अब थोरै चर्चा गरौं पैयुँ गाउँपालिकाका विषयमा । फागुन ३०, २०७३ को निर्णयानुसार पर्वत जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका सातवटा स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो । गण्डकी प्रदेश भित्रका ११ वटा जिल्ला मध्ये पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित पैयुँ गाउँपालिका साविकको बेउलीबास, टकलाक, त्रिवेणी, हुवास, सरौंखोला र भोर्ले गा.वि.स. समावेश गरी गठन गरिएको हो । जहाँ ७ वडा छन् ।
पैयुँ गाउँपालिका २८० ००’ १९” देखि २८० ०८’ ०८” उत्तरी अक्षांश र ८३० ३८’ १३” देखि ८३० ४२’ ४९” पूर्वी देशान्तरसम्म फैलिएको छ । गाउँपालिकाको पूर्वी सिमानामा स्याङ्जा जिल्लाको भू–भाग, पश्चिममा विहादी र महाशिला गाउँपालिका, उत्तरीभागमा महाशिला गाउँपालिका र दक्षिणमा स्याङ्जा जिल्लाको भू–भाग पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४२.५ वर्ग किलोमीटर छ भने समुद्र सतहबाट ५६० मिटर उचाई देखि १८२० मिटरसम्मको उचाईमा गाउँपालिका अवस्थित छ ।
गाउँपालिकाका ७ वडा मध्ये १ नं. वडा टकलाक क्षेत्रफलका हिसाबले सानो तर भौगोलिक हिसाबले मिलेको वडा हो । यस वडामा साविकका ९ वडा अन्तरगत विभिन्न १३ वटा टोलहरु रहेका छन् । ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, दलित लगायतका जातजातिको बसोबास टकलाकमा छ । दलित समुदाय अन्तर्गत विश्वकर्मा, दर्जी, परियार,नेपाली लगायतका थर रहेका जातीहरुको बसोबास टकलाकमा छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन पश्चात तीन तहको शासकीय व्यवस्था लागु भयो । गाउँपालिका १ नं. वडा टकलाकमा हाम्रो पार्टी नेपाली कांग्रेसका पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र ४ सदस्यहरु गरी सातै जना उम्मेदवारहरु विजयी गराउन हामी सफल भएका थियौँ । अहिले स्थानीय तहको पाँच वर्षे कार्यकाल पुरा भएको छ ।
पाँच वर्षको अवधिमा टकलाकमा भएका महत्वपूर्ण कार्य योजनाहरु हाम्रा भावी सफलताका आधारहरु हुन् । नेपाली कांग्रेसबाट निर्वाचित नेतृत्वबाट गाउँपालिकाको पहिलो कार्यकालमा सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका महत्वपूर्ण कार्यहरुको संक्षिप्त विवरण यस प्रकार छ ।

१. केन्द्र सरकार सँगको समन्वयमा टकलाक टार सिंचाई योजनाको स्तरोन्नति कार्य तिव्र रुपमा अगाडी बढेको छ । कोल गैह्रा सम्मको भाग ढलान कार्य सम्पन्न भएको छ ।
२. पैयूँ १ टकलाकमा जन्मी पैयूँ गाउँपालिकामै हाल सम्म उच्च सरकारी ओहोदामा पुग्न सफल सहसचिव शिव तिवारीज्यू र हाम्रोपार्टीका पैयूँ गाउँपालिका सल्लाहकार काशीराम बस्यालज्यूको विशेष पहलमा योजना पारी उहाँको अध्यक्षतामा गठित समितिद्वारा निर्मित बाहावी– टारी आकाशे पुल सम्पन्न भएको छ ।
३. पश्चिम नेपाल ग्रामीण खानेपानी परियोजना, पैयूँ गाउँपालिका र स्थानीय जनताको सँयुक्त लगानी र सहयोगमा साविक ४ वाहावी, ५ माझखण्ड र ६ चौरमा एक घर एक धारा निर्माण साथै नमुना सरस्वती प्रा.वि.मा खानेपानी सुविधा सम्पन्न भएको छ ।
४. केन्द्रीय खानेपानी आयोजना अन्तर्गत हाम्रो प्रत्यक्ष सहभागितामा साविक ८ र ९ सिंगारकोषमा एक घर एक धारा साथै टकलाक मा.वि.मा खानेपानी सुविधा पुर्याइएको छ ।
५. केन्द्रीय खानेपानी आयोजना अन्तर्गत हाम्रो प्रत्यक्ष सहभागितामा साविक १ को कात्तिके, छड्केबाटा , २ को स्यानथुम्का , भाटेथुम्का, ३ को ढुंगेखर्क दलित बस्ती र ७ को घैया खेत र टकलाकमा खानेपानी योजनाको कार्य चलिरहेको छ ।
६. अर्थुन बाहावी चौर वायखर्क रातो छहरा सडक ट्रयाक खोल्ने काम पुरा भइ स्तरोन्नती गर्ने कार्य समेत यसै वर्ष सुरु भएको छ । जसअन्तर्गत वाहावी चौर खण्डमा पुर्वाधार विकास कार्यालय मार्फत केही काम भएको छ भने सहरी विकास मन्त्रालय मार्फत अर्थुनको मोटरेवल पुल देखी माकुरे गैह्रा खण्ड यसै वर्ष स्तरोन्नती हुँदैछ ।
७. गाउँपालिका र पुल विभागको लगानीमा वाय–घांग्रे देखी पारी तर्ने झलुगें पुल निर्माण कार्य यसै वर्ष सम्पन्न हुँदैछ ।
८. टकलाक मा.वि. मा ४ कोठे भवन निर्माण सम्पन्न भएको छ । सूचना प्रविधि सेवा विस्तारका लागि सूचना प्रविधि ल्याव स्थापना भएको छ । टकलाक मा.वि. मा ३ शिक्षक दरवन्दी थप भइ अब शिक्षक अभाव र विद्यालयको स्रोत खर्च गर्न पर्ने समस्या टरेको छ । विद्यालयको कम्पाउण्ड गरी प्रवेशद्वार निर्माण कार्य यसै वर्ष सम्पन्न हुँदैछ ।
९. नमुना सरस्वती प्रा.वि.को कम्पाउण्ड वाल निर्माण भई प्रवेशद्वार निर्माण सम्पन्न भएको छ । भल व्यवस्थपान कार्य सम्पन्न भएको छ ।
१०. बाल प्रतिभा प्रा.वि.मा एक शिक्षक दरवन्दी थप भई निजी स्रोतबाट खर्च ब्यहोर्न पर्ने समस्या टरेको छ ।
११.देउराली प्रा.वि. सिंगारकोषको ग्राउण्ड निर्माण भई तारबार गरिएको छ ।
१२. घाँग्रे, वाय,नामसारी, माझर चौतारी, बोके खर्क कुटी लगायत स्थानहरुमा प्रतिक्षालय निर्माण भएका छन् ।
१३. कालिका मन्दिर,ढुंगेखर्क, चौर, माझको चौर, बाहावी, कात्तिके, स्यानथुम्का, छड्केबाटा लगायत स्थानमाहरुमा सामुदायिक भवन निर्माण भएका छन् भने केही निर्माण हुने क्रममा छन् ।
१४. हाम्रो पार्टीका महामन्त्री माननीय गगन थापा स्वास्थ्य मन्त्री हुँदा बजेट विनियोजन भई पार्टीका उपसभापति रुका न्यौपानेले निशुल्क जग्गा दान गरी टकलाककै गौरवको रुपमा टकलाक स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
१५. गावटा कुवा, हैते गैह्रा कुवा, पांग्राको झाल कुवा, खाल्टे कुवा, लाँकुरी गैह्रा कुवा भ्याकुते कुवा, तल्लो सिंगारकोष स्वामीको कुवा लगायत कुवाहरु मर्मत सुधार भएका छन् ।
16. खर्क सिरानको कुलो, बाध टकलाक कुलो, सिस्नेरी बाहावी कुलो, हैते गैह्रा ठुला चौर कुलो
सिस्नेरी जय डाँडा कुलो जस्ता साना सिंचाई कुलाहरु मर्मत सम्पन्न हुँदै छन् ।
17. १२ घर परिवारका खरले छाएका छाना हटाएर जस्तापाता लगाउन सफल भएका छौँ ।
18. सबै टोलहरुलाई समेट्ने गरी साझेदारीमा कुटानी पिसानी र मिनी ट्रिलर हस्तान्त्रण गरी टोल
टोलमा सुविधा पुगेको छ ।
17. ९३ घरधुरीको किसानहरुका गोठका भकारा सुधार एवं मर्मत भएका छन् ।
१८. वर्दीलाङ कुलाको बाँध मर्मत कार्य गरिएको छ ।
19. टकलाक फलेबास चिन्देखर्क जोड्ने मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ ।
20. माझर चौतारी देखी सापकोटा थर मोटर बाटो निर्माण भएको छ ।
21. अति विपन्न 20 घरपरिवारका लागि माउ बाख्रा वितरण गरिएको छ । साथै २0 किसानका
बाख्राका खोर सुधार गरिएको छ । ५ जना कुखुरा पालन व्यवसायीका कुखुराका खोर सुधार
गरिएको छ ।
22. यसै वर्ष देखी गर्भवती तथा सुत्केरी महिला संग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम मार्फत प्रति
सुत्केरी 5 हजार रुपैँया वितरण सुरु गरिएको छ ।
23. तरकारी उत्पादनका लागि ४ जना किसानलाई अनुदान सहयोग उपलब्ध गराइएको ।
24. यूवाहरुका लागि खेलकुद सामाग्रीहरु वितरण गरिएको ।
25. २७ जना विभिन्न दीर्घ रोगीहरुहरुलाई उपचार सहायता उपलब्ध गराइएको । साथै कोभिड प्रभावित २५ जनालाई १० हजार का दरले अनुदान उपलब्ध गराइएको छ ।
नेपाली कांग्रेस र ने.क.पा. माओवादी केन्द्रको संयुक्त गठबन्धनको भावी कार्यक्रमहरु निम्नानुसार हुने गरी तय गरिएको छ ।
(क) शिक्षा यूवा तथा खेलकुद विकास
नेपाली कांग्रेस पैयूँ गाउँपालिका १ नं. वडा टकलाकको पहिलो प्राथमिकताको क्षेत्र शिक्षा, यूवा तथा खेलकुद विकास हुनेछ । गुणस्तरीय शिक्षा दिनु, यूवालाई उद्यमी बनाउनु , खेलकुद पूर्वाधार विकास र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्नु हाम्रो लक्ष्य हो । यसका लागि सञ्चालान गरिने कार्ययोजनाहरु यस प्रकार हुनेछन् ।
1. शिक्षा
-नमुना सरस्वती प्रा.वि. , बाल प्रतिभा प्रा.वि. र देउराली प्रा.वि. लाई टकलाक मा.वि. को फिडर प्रा.वि. का रूपमा विकास गरी भौतिक पूर्वाधारले सुविधा सम्पन्न बनाइने छ । विद्यार्थी संख्याका आधारमा दरवन्दी कम भएका विद्यालयमा दरवन्दी व्यवस्था गरिने छ ।
– टकलाक मा.वि. लाई भौतिक रुपमा सुविधा सम्पन्न, प्रविधिले सुसज्जित र गुणस्तरीय शिक्षाको केन्द्रको रुपमा विकास गरिने छ ।
– टकलाक मा.वि. मा रहेको IT lab लाई पूर्ण रुपमा प्रयोगमा ल्याउन एक सूचना प्रविधि सहजकर्ताको व्यवस्था गरिने छ । यसबाट विद्यार्थीलाई मात्र नभई समुदायका अरु व्यक्तिहरुलाई समेत कम्प्युटर एवं सूचना प्रविधि सम्बन्धी सिप सिकाइने छ ।
– टकलाक मा.वि. मा रहेको शैक्षिक जनशक्तिलाई पूर्ण क्षमतामा काममा लगाइने छ । क्रमशः अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था मिलाइने छ । जन प्रतिनिधि, कर्मचारी, राजनीतिज्ञका छोरा छोरी समेतले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने वातावरण बनाइने छ ।
-अति विपन्न दलित जनजाजी र अन्य समुदायका सामुदायिक विद्यालयमा पढ्ने बालबालिका लाई वर्षमा १ सेट विद्यालय पोषाक उपलब्ध गराइनेछ ।
– प्राविधिक शिक्षा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहायता दिने व्यवस्था मिलाइने छ ।
– पैयूँकै जेठो क्याम्पस पैयूँ बहुमुखी क्याम्पसमा गुणस्तरीय एवं निशुल्क शिक्षा दिन उचित व्यवस्था गर्न पहल गरिने छ ।
-स्नातक तह सम्मको शिक्षा निशुल्क बनाउनका लागि पालिका संग समन्वय गरी व्यवस्था मिलाइनेछ ।
– लोकसेवा तयारी कक्षाहरु सञ्चालन गर्ने व्यवस्था गरी रोजगारीका अवसरहरु सृजना गरिने छ ।
२, यूवा तथा खेलकुद विकास
– जनताका लागि विकास र विकासका लागि यूवा भन्ने मान्यताका आधारमा रोजगारी सृजनालाई
प्राथमिकतामा राखिने छ
– व्यवसाय सुरु गरेका र व्यवसाय सुरु गर्न चाहाने यूवाहरुका लागि क्षमता विकास तालिमहरु सञ्चालन
गरी यूवाहरुलाई व्यावसायिक सफलताको बाटो देखाइने छ ।
– संघ र प्रदेश सरकार संग समेत समन्वय गरी यूवाहरुको व्यवसाय पुर्वाधार विकास, रोग नियन्त्रण,
व्यवसाय क्षमता विकासका लागि सहयोग गरिने छ ।
– टकलाक को केन्द्रमा जग्गा व्यवस्थापन गरी वडा स्तरीय भलिबल खेल मैदान निर्माण गरिने छ ।
साथै टोल टोलमा रहेका भलिबल खेल मैदानहरुलाई तारबार गरी व्यवस्थित गराइने छ ।
– साविक ६ चौरमा पालिका स्तरीय क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
– यूवाहरुका लागि संघ र प्रदेशबाट सञ्चालित कार्यक्रमहरु माग गर्न आवश्यक कागजात तयार गर्ने र
कार्यक्रम पार्न पहल गरिने छ ।
– व्यावसायिक कृषि एवं तरकारी खेती गर्न इच्छु किसान पहिचान गरी कार्य गर्ने वातावरण तयार गर्ने
साथै प्रोत्साहन उपलब्ध गराइने छ ।
– सिपयुक्त यूवाका लागि विभिन्न अवसरहरु पहिल्याइ आयमुलक कार्य का लागि सहयोग गरिने छ ।
(ख) स्वास्थ्य सेवा
– टकलाक स्वास्थ्य चौकीमा चौविसै घण्टा स्वास्थ्य जाँच र उपचार सेवा प्रवाहको लागि आवश्यक
व्यवस्था मिलाइने छ ।
– आधारभुत स्वास्थ्य सेवाका लागि प्रयोगशाला स्थापना गरी प्राविधिक जनशक्ति व्यवस्थापन गरिने छ ।
– गाउँपालिका साथै अन्य दातृ एवं सहयोगी संस्थाहरु संगको समन्वयमा समय समयमा स्वास्थ्य शिविर
सञ्चालन गरिने छ ।
– स्वास्थ्य विमा कार्यक्रम लाई प्रभावकारी बनाइने छ ।
– जेष्ठ नागरिक, अशक्त र अति विपन्न परिवारका व्यक्तिहरुको औषधी उपचारमा सहायता उपलब्ध
गराइने छ ।
– आंशिक अपांगता भएका तर कुनै सुविधा नपाएका अति विपन्न परिवारका व्यक्तिहरुका लागि
गाउँपालिका मार्फत मासिक सहायता प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
-विभन्न दातृ निकायहरुको सहयोगमा टकलाकमा एक एम्बुलेन्स सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
(ग) भौतिक पूर्वाधार विकास
दिगो र व्यवस्थित विकास मार्फत रोजगारी सृजना गर्नु आजको आवश्यकता हो । हामी यही आदर्शलाई आत्मसात् गर्दै अगाडी बढ्ने छौँ ।
हामी संग वर्षभरी उपलब्ध हुने बजेट, र टकलाकमा वर्षभरी उपलब्ध हुने श्रमशक्तिको उचित अनुमानका आधारमा कति योजना सम्पन्न हुने, कति जनाले काम गर्ने, कति सामग्री लाग्ने पहिले नै निर्क्योल गरिनेछ र सोही अनुसार समग्र टकलाक विकासको एक परियोजना तयार गरी व्यवस्थित, मर्यादित र पारदर्शी हिसाबले जनताको प्रतक्ष्य सहभागिता र जनप्रतिनिधि हरुको प्रतक्ष्य निगरानीमा काम हुने व्यवस्था मिलाइनेछ ।
पैयूँ १ टकलाकमा हाल सम्म भएका विकास योजनाहरु हाम्रा भावी सफलताका आधारहरु हुन । दिगो विकास, जन सहभागिता, पारदर्शीता र गुणस्तरीय निर्माण जस्ता विषयहरुलाई आत्मसात् गर्दै केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिका संग समन्वय गरी महत्वपूर्ण उपलब्धि हासिल गरिने छ । यो पाँच वर्षको अवधिमा निम्न योजनाहरु सम्पन्न गरिने छ ।
– केन्द्र र प्रदेश सरकार मार्फत अर्थुन, वाहावी, चौर, वाय खर्क, रातोछहरा सडक कालोपत्रे गरिने छ ।
रातोछहरमा मोटरेवल पुल निर्माण गरिनेछ ।
– केन्द्र र प्रदेश सरकार मार्फत अर्थुन, टकलाक, सिंगारकोष, पिंडिखोला सडक कालोपत्रे गरिने छ ।
– घैयाखेत देखी स्यानथुम्का दलित बस्ती जोड्ने सडक नयाँ ट्रयाक पहिलो वर्ष नै सम्पन्न गरिने छ ।
– फलेवास देखी थुम्का वस्ती सम्मको सडक नयाँ ट्रयाक खोल्ने कार्य पहिलो वर्ष मा नै सम्पन्न गरिने
छ ।
– जग्गाधनीहरुको समन्वयमा सिंगारकोष देउराली देखी मगरगाउँ सम्म भित्री सडक निर्माण गरिने छ ।
– विभिन्न शाखा सडकहरु; टकलाक चौर सडक, टकलाक-ढुंगेखर्क फलेवास चिन्देखर्क सडक, टकलाक
वाहावी सडक, सिस्नेरी स्यानथुम्का- कात्तिके सडक, सिंगारकोष- वर्दिलाङ सडक, चौर साजको फेद-
वरेदीघाट सडक, साविक ५ नं. – लामगरा सडकहरु पक्की नाली, ग्रावल समेत गरी स्तरोन्नती गरीनेछ
।
– वस्ती देखी वस्ती , घर देखी घर जोड्ने वडा भित्रका सबै पैदल मार्ग मर्मत सुधार गरीने छ ।
-टकलाक स्वास्थ्य चौकीको आसपासमा जग्गा व्यवस्था गरी आकस्मिक प्रयोजनका लागि एक हेलीप्याडको निर्माण गरी प्रयोगमा ल्याइनेछ ।
(घ) कृषि, सिंचाई, खानेपानी तथा पशुपंक्षी पालन
ग्रामीण भेगमा बस्ने हाम्रो आयस्रोत र बाँच्ने मुख्य आधार कृषि तथा पशुपालन नै हो । हामीले किसानहरुलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरु सञ्चालन गर्नेछौँ ।
-सिंगारकोष, वायखर्यक, फलेबास, ढुंगेखर्क र खानेपानी निर्माणधिन बस्तीहरुमा व्यवस्थित रुपमा एक घर
एक धारा निर्माण गरिने छ ।
-वायखर्कको खानेपानी योजना सम्पन्न गरी व्यवस्थित वितरणको व्यवस्था मिलाइनेछ ।
– टकलाक टार सिंचाई योजानाको कामलाई थप तिव्रताका साथ अगाडी बढाई बाह्रै महिना पानी
चलाइनेछ र ठुलाचौर, माझको चौर, लामगरा, नामसरी लाई कृषि उत्पादनको मुख्य केन्द्रको रुपमा
हराभरा बनाइनेछ ।
– वर्दिलाङ सिंचाई कुलो लाई केन्द्र र प्रदेश सरकार संग पहल गरी योजनामा समावेश गरी वर्दिलाङ र
वाय खर्कमा बाह्रै महिना सिंचाई सुविधा हुने व्यवस्था मिलाइनेछ ।
– वडा भित्रका मर्मत हुन बाँकी रहेका सबै टारी साना सिंचाई कुलाहरु विभिन्न स्रोतहरु मार्फत मर्मत
सुधार गरी किसानलाई असारमा कुलो सोहोर्न पर्ने झन्झटबाट मुक्त गरिनेछ ।
– हाम्रै पहलमा सर्वेक्षण सम्पन्न भएको संभाब्यता सर्वेक्षण अनुसार केन्द्र र प्रदेश सरकार संगको
समन्वयमा एक लिफ्ट सिंचाई आयोजना निर्माणका बजेट व्यवस्था गरिनेछ । ठुलो रिजर्भ्वायर टंकी
बनाई जोड्ने पाइपलाइन निर्माण गरी सिंचित गरिने छ । यो पैयूँकै गौरवको योजना हुने छ ।
– अहिलेको धरै जग्गाहरु बाँझो हुने अवस्थालाई मध्येनजर गरी गाउँपालिका मार्फत धेरै जग्गामा ठुलो
स्केलमा खेती गर्न किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइनेछ ।
-बाँदर नियन्त्रणका लागि बाँदर नियन्त्रण चेक प्वाइन्ट खडा गरी वाँदर धपाउनका लागि हेरालु राख्ने
व्यवस्था मिलाइनेछ ।
– टकलाकका कम्तिमा ३ जना किसानलाई पूर्ण व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गरी
उनिहरुलाई गाउँपालिका मार्फत वार्षिक प्रोत्साहनको व्यवस्था मिलाइनेछ ।
– व्यावसायिक रुपमा गाई भैँसी पालन गर्न किसानहरुलाई प्रेरित गर्दै पालिका मार्फत गोठ सुधार,
फर्मको क्षमता विकास , दुध निर्यातमा सहजिकरण एवं प्रोत्साहनको व्यवस्था गरिनेछ ।
– ठुलो स्केलमा बाख्रा पालन, वंगुर पालन, कुखुरा पालन गरिरहेका व्यक्तिहरुलाई फर्म दर्ता गर्न सहयोग
गरी केन्द्र, प्रदेश र गाउँपालिका मार्फत हुने सहयोगका बारेमा जानकारी गराउने, कागजपत्र तयार गर्ने,
योजना माग गर्न र योजना पार्न सहयोग गर्दै व्यावसायिक बनाउन पूर्ण सहयोग गरिनेछ ।
– उत्पादित बस्तुको सुरक्षित भण्डारणका लागि होल्डिङ एण्ड कोल्डीङ सेण्टर र बजारीकरणका लागि गाउँपालिका स्तरमा आवश्यक पुर्वाधार निर्माण गरी सहजिकरण गरिनेछ ।
-फलेवास, कात्तिके, स्यानथुम्का र ढुंगेखर्क का किसानलाई सुन्तला उत्पादनका लागि प्रोत्साहित गर्ने
नीति लिइनेछ ।
-कफी व्यवसायी समुह गठन गरी कफि पकेट क्षेत्र विस्तार गरी उत्पादन र बजारीकरणका लागि योजनावद्ध कार्य गरिनेछ ।
– किसानलाई कृषिजन्य उत्पादन वृद्धिका लागि, संकलन र बजारीकरणका लागि उचित व्यवस्था मिलाइनेछ ।
(ङ) पर्यटन प्रवर्धन
पैयूँ १ टकलाकमा जन्मी पैयूँ गाउँपालिकामै हाल सम्म पैयूँबाटै उच्च सरकारी ओहोदामा पुग्न सफल सहसचिव शिव तिवारी ज्यू र हाम्रो पार्टीका पैयूँ गाउँपालिका सल्लाहार काशीराम बस्याल ज्यु को विशेष पहलमा योजना पारी उहाँकै अध्यक्षतामा गठित समिति द्वारा निर्मित बाहावी- टारी आकाशे पुल, बोकेखर्कको जोगी कुटी हाम्रा महत्वपूर्ण पर्यटकीय स्थलहरु हुन । ढुंगेखर्कमा होमस्टे निर्माण गरी आन्तरिक र वाह्य पर्यटक आकर्षण गरी रोजगारी सृजना गर्न सकिन्छ। यि स्थलहरु लाई बस्ती संग जोड्ने र आयआर्जन बढाउनु हाम्रो लक्ष्य हो । पर्यटन विकासका लागि यि कार्ययोजनाहरु अगाडी बढाइनेछ ।
– ढुंगेखर्कमा एक समुह गठन गरी सामुहिक लगानीमा होमस्टे स्थापना गरी सञ्चालन गरिनेछ । प्रदेश सरकारले होमस्टे विकासका लागि गर्ने सहायता प्राप्त गर्न सहजिकरण गरिनेछ ।
– बाहावीको पुल देखी घैयाखेत हुँदै भुसाल पोखरा सम्म र बोके खर्क देखी टकलाक कालिका मन्दिर हुँदै भुसाल पोखरा रेलिङ सहितको व्यवस्थित पैदल मार्ग निर्माण गरिनेछ ।
– टकलाक कालिका मन्दिर अगाडीका पुराना भवन हटाई बाटो व्यवस्थित गरिनेछ । बाटो माथीबाट अर्धचन्द्र आकारमा वाल निर्माण गरी मन्दिर अगाडी रेलिङ निर्माण गरिनेछ । कालिका मन्दिरको नित्य पुजाका लागि उचित व्यवस्था मिलाइनेछ ।
– जोगीकुटी मन्दिरको नियमित पुजा सञ्चालनका लागि सहयोग गरिनेछ ।
– ढुंगेखर्क देविथान मन्दिर निर्माण गरिने छ ।
– भुसाल पोखरा देखी ढुंगेखर्क दलित वस्ती हुँदै प्रस्तावित होमस्टे सम्म र प्रस्तावित होमस्टे बाट थुम्का हुँदै देवीथान सम्म पर्यटकीय पैदल मार्ग निर्माण गरी पर्यटक आकर्षण गरिनेछ ।
– बोकेखर्क र जोगीकुटीलाई धार्मिक स्थल र पिकनिक स्पोर्ट निर्माण गरी पर्यटक आकर्षणका लागि आवश्यक पुर्वाधार तयार गरी सञ्चालनमा ल्याइनेछ ।
(च) लक्षित वर्गका कार्यक्रमहरु
– महिला तथा बालबालिका का लागि आयमुलक सिप विकास तालिमहरु प्रदान गरी क्षमता अभिवृद्धी गरिनेछ ।
– दलित समुदायका लागि र अति विपन्न समुदायका लागि क्षमता विकास कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– अति विपन्न नागरिकहरुको आर्थिक समस्यालाई मध्येनजर गरी टकलाकका सबै घरपरिवारका व्यक्तिहरुको लगानीमा एक सहकारी स्थापना गरी सञ्चालन गरिनेछ । जसले आफुसंग पैसा हुँदा बचत गर्ने र खाँचो पर्दा बिना धितो ऋण लिन सहज नीति लागु गरिनेछ ।
–
– केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मार्फत प्रस्तावित सहकारीलाई व्यवस्थित र भौतिक एवं सूचना प्रविधिले सुविधा सम्पन्न एवं व्यवस्थित बनाइनेछ ।
– अहिले सम्म पनि शौचालय नभएका विपन्न परिवारका लागि निशुल्क शौचालय निर्माण गरिने छ
– खरका छानाले छाएका विपन्न परिवारका गोठ जस्तापाता लगाइ सुधार गरिने छ ।
– प्रस्तावित सहकारी सञ्चालनमा आएपछि सानातिना खरखाचो टार्न व्यक्तिका घर घर जान पर्ने छैन ।
– अति विपन्न परिवारका जेष्ठ नागरिकहरुका लागि खाद्यान्न, लत्ता कपडा, औषधी लगायतका सुविधा वितरणका लागि पालिका संग समन्वय गरी वितरणको व्यवस्था मिलाइनेछ ।
– सम्बन्धित बैंक संगको समन्वयमा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गरी वितरण गर्ने व्यवस्था मिलाइनेछ । यसबाट सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई हातेमालो चोक जान पर्ने समस्या पर्ने छैन ।
(छ) संस्थागत विकास तथा सुशासन
– वडा कार्यालय भवनको जस्ताको छाना हटाई छत ढलान गरी दुई तले भवन बनाइनेछ । पहिलो तलाबाट विभिन्न संघ संस्था महिला सहकारी तथा समुहका कार्यालय सञ्चालनको व्यवस्था मिलाइनेछ । दोस्रो तलाबाट वडा कार्यालयका कार्य सञ्चालन गरिनेछ ।
– कार्यालय बाट हुने सेवा प्रवाहलाई पूर्ण रुपमा कम्प्पुटराइज बनाइनेछ ।
– गाउँपालिका संगको समन्वयमा सेवा प्रवाहलाई डिजिटल बनाउन पहल गरिनेछ ।
– कर्मचारीहरुको सक्षमता विकासका लागि विभिन्न तालिमहरुमा सहभागी हुने अवसरहरु सृजना गरिनेछ ।
– विभिन्न उपभोक्ता समिति, टोल समिति, महिला समुहहरुलाई विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चानल गरी क्षमतावान बनाइनेछ ।
(ज) विविध
– वडाको केन्द्र टकलाकमा एक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
– टकलाकका साविक वडामा रहेका १३ टोल समेटिने जनसहभागिता र पालिकाको लगानीमा इन्टरनेट सेवाको पहुँच विस्तार गरिनेछ ।
– विभिन्न टोल समेटिने सामुदायिक भवनहरु निर्माण गरिनेछ ।
पैयूँ १ टकलाकको समग्र विकास र समृध्दिको लागि अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र १ खुला सदस्य पदमा रुख चिन्हमा र १ खुला सदस्य पदमा गोलाकार भित्रको हसिँया हथौडा चिन्हमा मतदान गरी विजयी गराउनुहुन अनुरोध गर्दछौँ ।
जय नेपाल !
अभिवादन !



