मस्तिष्कघातका कारण बिरामी भई लामो समयदेखी उपचारमा रहेका पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी शुक्रबार एक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनलाई श्रावण १ गते शुक्रबार अचानक मस्तिष्कघात भएको थियो । त्यसपछि उनि कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित नयाँ भवनको उद्धघाटन कार्यक्रममा उनि भौतिक रुप मै सहभागी भए । उनको स्वास्थ्य अवस्था क्रमिक सुधारको क्रम मै छ । कोरोना महामारीका बिच आयोजित कार्यक्रममा सहभागी मेयर जिसिले प्रहरी प्रतिको जनविश्वासमा स्खलन आएको तर्फ संकेत गर्दै यसको गम्भिर समिक्षा गर्न प्रहरी प्रमुखलाई आग्रह गरे ।
उनले भने, “जुन प्रहरी प्रति जनविश्वास छ, अव मलाई भन्नुहुन्छ भने त, म पञ्चायतकालको विद्यार्थी भएका कारणले पनि होला, प्रहरीको जस्तो कपडा लगाएर सामान्य नागरिक आउँदा पनि प्रहरी आयो भनेर भाग्थ्यौँ हामी । त्यो अहिले किन हराइरहेछ, किन त्यो ह्रास भैरहेको छ भन्ने कुराको खोजि गर्न प्रहरी प्रमुखलाई आग्रह गर्दछु ।”
भौतिक निर्माण मात्र प्रगति नभएको उल्लेख गरेका मेयर जिसिले सेवाको गुणस्तर र जनविश्वासको मर्यादामा ख्याल गर्न प्रहरी प्रशासनलाई स्मरण पनि गराए ।




