बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको तयारी गण्डकीमा पुरा भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । कार्यालयका निर्वाचन अधिकारी होमनाथ पराजुलीका अनुसार निर्वाचनको आवश्यक तयारी पुरा गरिएको हो ।
गण्डकीमा राष्ट्रिय सभाको रित्त महिला १, दलित १ र अन्य १ गरि ३ जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुनलागेको हो । “बुधबार हुने निर्वाचन व्यवस्थापनका सम्बन्धमा मंगलबार सर्वदलिय बैठक बसेर दलहरको राय र भुमिकाका विषयमा छलफल गरिएको छ, निर्वाचन अधिकारी पराजुलिले भने, मतदानका लागि २ वटा केन्द्रहरु समेत निर्माण गरिएका छन् ।” उनका अनुसार प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था गरिएको छ ।
मतदानका बखत स्वास्थ्य सुरक्षाको चुनौती हुनसक्ने तर्फ आफुहरु सचेत रहेको निर्वाचन अधिकारी पराजुलिले बताए । उनले भने, “कोभिड व्यवस्थापनको विषय चुनौती पुर्ण रहेको छ, त्यसलाई पनि हामीले स्वास्थ्य मापदण्डहरु लागु गरेर आवश्यक व्यवस्थापन गरेका छौँ । मतदानस्थल नजिकै एम्बुलेन्स सहित स्वास्थ्यकर्मीहरुको टिम पनि रहन्छ । मतदानको समयमा मतदाताहरुको तापक्रम नाप्ने, माक्स तथा सेनिटाईजरको प्रयोग गर्ने लगायतका गतिविधि पनि हुन्छन् ।”
कोभिड संक्रमित मतदाताहरुका लागि छुट्टै व्यवस्था गरिएको पराजुलिले जनाकारी दिए । उनका अनुसार बुधबार गण्डकीमा शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न हुनेछ । गण्डकीका ५९ जना प्रदेशसभा सदस्य र १७० जना स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदानमा सहभागीता जनाउने छन् । स्थानिय तहका पदाधिकारीलाई पर्यटन बसपार्कको छेउतर्फ तथा प्रदेशसभा सदस्यहरुका लागि पत्रकार महासंघको भवन छेउमा पार्किङ्को व्यवस्था गरिएको छ ।




