बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा नेताहरुले गोर्खा सैनिकहरुको अधिकारको पक्षमा काम गर्न आग्रह गरेका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आचार्यको सुनुवाइका क्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलगायतले बेलायती सेनामा कार्यरत र सेवा निवृत्त भएका नेपाली नागरिकको समान पेन्सन लगयतका समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

एमाले नेता पाण्डेले समान पेन्सनका लागि लामो समयदेखि आन्दोलनरत पूर्व गोर्खा सैनिकहरुको आवाज बलियो बनाउन आचार्यलाई आग्रह गरे ।

एमाले उपाध्यक्षसमेत रहेका पाण्डेले बेलायतबाट नेपालमा लगानी ल्याउने विषयमा पनि पहल गर्न आचार्यलाई आग्रह गरे । उनले त्यहाँ रहेका गैर आवासीय नेपालीसँग नेपालमा लगानीका बारेमा छलफल गर्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गोर्खा सैनिकको समस्या सुल्झाउन आचार्यलाई आग्रह गरे । उनले बेलायतसँगको सम्बन्ध नबिगारी नेपालको असंलग्न परराष्ट्र नीति कायम राख्ने चुनौती रहेको पनि बताए ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार