संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थल निर्माणको बाँकी काम तोकिए कै समयमा सम्पन्न गर्न निर्देशन समेत दिए ।
उनले राष्ट्रिय गौरवको आयोजना भएकाले यसका बाँकी कामहरु समयमा नै सम्पन्न गरि संचालनको तयारी गर्न निर्देशन दिएका हुन् । अवरोधका रुपमा रहेको रिठ्ठेपानीको डाँडा कटानलाई तत्काल अगाडी बढाउने समेत बताए ।
विमानस्थलमा पुग्ने भलपानीको निकासका लागि समेत सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा तत्काल आवश्यक संरचनाहरु निर्माण गर्न उनले निर्देशन दिए । विमानस्थल भन्दा माथिल्लो क्षेत्रको पानी वर्षातको समयमा विमानस्थल हुदै बग्दा जमिन कटान हुने र भुक्षयको समेत समस्या निम्तने भन्दै विमानस्थलसंगै त्यसको पनि व्यवस्थापन गर्न मन्त्री आलेले निर्देशन दिएका हुन् । विमानस्थल आसपासका नहरहरु र बाटोको समेत निरीक्षण गरेका उनले तिनीहरुको स्तरउन्नोतीका खातिर आवश्यक सहयोग गर्न आयोजनालाई आग्रह गरे ।
विमानस्थल परिसरमा फ्युलका लागि आवश्यक हवाई इन्धनको डिपो निर्माणका लागि आवश्यक समन्वय गर्ने उनले बताए । अर्को समस्याका रुपमा रहेको डम्पिङ साइडको समेत स्थानान्तरणका लागि पोखरा महानगरपालिकासंग समन्वय गरि उचित व्यवस्थापन गर्न उनले विमानस्थल आयोजनालाई निर्देशन दिए ।
विमानस्थलका लागि निर्माण गरिएका संरचनाहरुको गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न उनले अनुरोध समेत गरे । अन्तराष्ट्रिय स्तरको विमानस्थल भएकाले आईकाओको मापदण्ड मिट गर्नुपर्ने उनले बताएका छन् ।
सो क्रममा आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराए । उनका अनुसार हाल विमानस्थल निर्माण कार्य ८८ प्रतिशत पुरा भएको छ । सन् २०२२ को जनवरीमा आन्तरिक उडान थाल्ने गरि तयारी गरिएको उनले जनाए ।
आयोजनामा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बरमा सुरु भएको विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।
विमानस्थलको रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर लगायत निर्माण भइसकेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्गमिटरमा फैलिएको छ । ८ हजार वर्गमिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्गमिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ ।




