मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ ।

मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ ।
यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
करिब ४५ यात्रु सवार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।



