नेपाली कांग्रेसको पोखरा महानगर चुनाव भड्किलो देखिएको छ । पार्टीको आन्तरिक चुनावमा पनि अन्तरपार्टी प्रतिष्पर्धा जस्तो गरि उमेद्वारहरुले आ–आफ्नो प्रचार सहितका ठुलठुला तुल तथा व्यानरहरु टाँगे भने कतिपयले पानीका बोतलहरुमा पनि आफ्ना स्टिकरहरु टाँसेका पाईयो । यी सवैका खातिर उमेद्वारहरुले लाखौँ रुपैयाँ खर्च गरेका छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा उमेद्वारहरुले आ(आफ्ना बुथहरु निर्माण गरि मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने भरमग्दुर प्रयत्न गरे । आफ्ना एजेण्डा र प्रतिवद्धता सहितका पर्चा तथा पम्पलेटहरु पनि बाँडे । नेपाली कांग्रेसको राजनीतिमा आफ्नो संलग्नाता र संघर्षका कथाव्यथाहरु पनि सुनाए ।
यो सवै तामझामले निर्वाचन महंगो देखियो । पार्टीको आन्तरिक निर्वाचनमा यो सवै आवश्यक थियो ? भन्ने प्रश्नमा कांग्रेसका पुराना र अनुभवि नेताहरु भन्छन्, ‘‘समय अनुसार प्रचार प्रसार आवश्यक छ, तर यो हदसम्म भने होईन् । आजको चुनावमा जे देखियो यो अलि बढि नै हो ।, उनिहरुले थपे, उमेद्वारहरुले त असल राजनीतिक संस्कारको आत्मसाथ गर्नुपर्छ, ताकि यो भविष्यको कांग्रेसका लागि कामयायी होस् ।’’
पार्टीको पोखरा महानगर समितिको नेतृत्वका लागि रामराज लामिछाने, मोहन बास्तोला, सुरेन्द्रमान बिजुक्क्षे, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमाल चुनावी मैदानमा छन् । । उनिहरु सवैजनाले महानगरमा संगठित पार्टी निर्माणका लागि नेतृत्वमा दावी गरिरहेका छन् । निर्वाचनमा मतदान सम्पन्न भएको छ । उमेद्वारहरु परिणामको प्रतिक्षा गरिरहेका छन् ।
पार्टीको १४ औ महाधिवेशसको निर्वाचन तालिका अन्तरगत शनिबार सम्पन्न पोखरा महानगरको निर्वाचनमा वडा तहबाट चुनिएर आएका वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुले महानगर समितिका सभापति सहितका पदाधिकारी र कार्यसमिति चयनका लागि मतदान गरेका हुन् ।




