नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १(१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।
नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।
नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।




