इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।
गाजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सात दिन देखी जारी छ । स्वास्थ्य अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेल अभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । आइतबार अबेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दैछ र यस बैठकमा दुई देशबीचको तनावका विषयमा छलफल हुनेछ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार गत सोमबार लडाइँ सुरु भएयता गाजामा ४१ बालबालिका सहित १ सय ४८ जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । त्यसैगरी इजरायलमा १० जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् ।




