पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा ४ देशका १५६ जना धावकहरु दौडिने भएका छन् । आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार अन्तिम तयारीमा जुटिरहेको म्याराथनमा नेपाल, जापान, वेलायत र उरुग्वे गरि ४ देशका १५६ जना धावकहरुले सहभागीता जनाउने भएका हुन् ।
प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने गरेको प्रतियोगिता यस वर्ष कोरोना महामारीका कारण चरणबद्ध रुपमा गर्ने तयारी गरिएको अध्यक्ष गुरुङ्ले जनाए । जस अनुसार पहिलो चरणमा फागुन १ गते शनिबार प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन प्रतियोगिता हुनेछ ।
पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन र महिला तर्फ २१ किलोमिटरको हाफ म्याराथन फागुन १ मा हुनेछ ।
प्रतियोगितामा नेपालका १३ जिल्लाका खेलाडीहरु दौडिने मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले जानकारी दिए । महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरु दौडिने छ ।
खुल्ला म्याराथन र महिला हाफ म्याराथन फागुन १ गते भएपनि अन्य इभेन्टहरु पछि हुने जनाइएको छ । म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै चौथो हुनेले सान्त्वना रुवस्प २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटले जानकारी दिएका छन् ।




