राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच प्रतिष्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाद्धारा आयोजित डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु यसअघि नै सम्पन्न भएका थिए । प्रतियोगीतामा तीन विभागीय र चार नगरपालिका–महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरु हुनेछ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को गोल अन्तरले पराजित गरेको थियो । अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंग अंक दूरी कम गर्ने योजनामा रहेको छ ।

पहिलो चरणमा ६ खेल खेलेको आर्मी १३ अंक सहित लिगको दोस्रो स्थानमा छ । ६ वटै खेलमा पराजय भोगेको चौदण्डीगढी भने अंकविहीन हुँदै पुछारमा छ । महिला लिगको साविक विजेता समेत रहेको एपीएफ १८ अंक सहित शीर्ष स्थानमा छ ।
विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ भने पुलिस र वालिङ समान ८ अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन् । चन्द्रपुर ३ अंक सहित छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार