भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन प्रति आईएफबिबिका निर्णायकहरुले गहिरो दुःख व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण आज निधन भएको थियो ।
उनको निधनमा राष्ट्रिय निर्णायक कमिटिका सदस्य एंव स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानका अभियान्ता सुनिल बहादुर कोईराला, निर्याकहरु राजु कुमार थापा, राजु गुरुङ, नविन आलेमगर, राकेश जोशी, आनन्द गुरुङ तथा पश्चिमाञ्चल शारीरिक सुगठनका प्रशिक्षक जिवन घिमिरे लगायतले गहिरो दुःख व्यक्त गरेका हुन् ।
सन् २०१९ मा आयरल्यान्डमा भएको चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए । त्यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा समेत छनौट भएका थिए ।
बाग्लुङ्को गल्कोटमा जन्मिएका भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् । उनले नेपालमा भारत्तोलनको तालिम संचालन समेत गरेका थिए ।




