विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्त्यसम्म पनि कोरोनाभाइरसविरूद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध क्षमता) विकास नहुने बताएको छ । डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सोमबार जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै धनी मुलुकहरूले धमाधम कोरोनाको भ्याक्सिन लगाउन थालेको भए पनि हर्ड इम्युनिटी विकास नहुने बताइन् ।
सन् २०२१ मा हामी कुनै पनि प्रकारको पपुलेसन वा हर्ड इम्युनिटी हासिल गर्न सक्दैनौं,’ उनले भनिन, कुनै देशको पकेट एरियामा त्यस्तो हर्ड इम्युनिटी बने पनि संसारभरिका मानिसलाई यसले जोगाउन सक्दैन। आममानिसले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र हात धुने कुरालाई निरन्तरता दिनु पर्नेमा उनले जोड दिइन् । वैज्ञानिकहरूले रातदिन मेहनत गरेर कोरोनाभाइरसको भ्याक्सिन बनाउनु प्रशंसनीय भएको उल्लेख गर्दै स्वामिनाथनले भ्याक्सिन लगाउन भने समय लाग्ने बताइन् ।
उनले लाखौं होइन अर्बौ डोज भ्याक्सिन उत्पादन गर्न समय लाग्छ, त्यसका लागि धैर्य गर्नुपर्छ, भनिन् । अहिले बेलायत, अमेरिकाजस्ता संसारका धनी देशहरूले कोरोनाभाइरस विरूद्ध नागरिकलाई खोप लगाइरहेका छन् । गरिब मुलुकहरूमा भने कहिलेदेखि भ्याक्सिन लगाउन सुरू हुन्छ भन्ने एकिन छैन् । गतवर्ष चीनको वुहानदेखि फैलिएको कोरोनाभाइरसले अहिलेसम्म १० करोडको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् भने २० लाख नजिक मानिसहरुले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार