पोखरा महानगरपालिकाले वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण निरन्तरताको लागि रु.५० लाख बजेट विनियोजन गरेको छ । महानगरपालिकाको सातौ नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिनका लागि रु.५० लाख बजेट विनियोजन गरेको जनाकराी दिनुभयो ।
यस्तै महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै महानगरले टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । पोखराका विभिन्न १० स्थानमा व्यायाम सामग्री जडानको लागि आवाश्यक बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङ्ले बताउनुभयो ।
विपदमा युवा स्वयमसेवा कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा म्याराथुन संचालनका लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले उत्कृष्ट वर्ष खेलाडी छनौट गरी अर्वाड समेत प्रदान गर्ने बताएको छ ।

यसअघि महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख मान बहादुर जिसिले खेलाडीलाई पुरस्कार र सम्मानसंगै एक वडा एक खेल मैदानलाई निरन्तरता दिने बताउनुभएको थियो । खेलकुदको विकास गर्न विद्यमान खेलकुद कानुनलाई समय सापेक्ष बनाइने बताउँदै प्रमुख जिशीले महानगरीय खेलकुद समिती गठन गर्ने निती तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।
उहाँले पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय स्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने समेत जानकारी दिनुभयो । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिनेसंगै स्वस्थ्यका लागि व्यायाम कार्यक्रमलाई अभियानको रुपमै टोल टोलमा सञ्चालन गरिने प्रमुख जिशीले निती तथा कार्यक्रममा उल्लेख गर्नुभयो ।




