पोखरा रंगशालाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माणमा संलग्न ठेकेदार कम्पनिले जनाएको छ । कम्पनिका अनुसार फुटबल मैदान र ट्रयाक निर्माण कार्य सम्पन्न भएको, ग्राण्ड स्टाण्ड दर्शकहरु बस्ने प्याराफिटका चार ब्लकहरु मध्ये ३ वटाको कंक्रिट ढलानको काम सकिएको, दुई तर्फ ग्राण्ड स्टाण्ड फिटिङ् भैसकेको ई.पुरुषोत्तम बरालले जनाकारी दिनुभयो । यस्तै प्रि ईन्जिनियरिङ विल्डिङ्, भिआईपि प्याराफिटको माथी छत तथा बाटो समेत निर्माणको काम भैरहेको ई.बरालले बताउनुभयो । पोखरा रंगशालामा पहिले निर्माण गर्ने भनिएको १६ हजार ५ सय सिटमा पछि थपेर २० हजार पुर्याउने सम्झौता भएपछि त्यसको पनि काम अगाडी बढेको जनाईएको छ ।
आगामी चैत्र मध्येतिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको रंगशाला निमार्णको कार्य बिचमा हुने भनिएको आहारारा गोल्ड कप लगायतका कारण ढिलाई हुन सक्ने निर्माण कम्पनिले जनाएको छ । तर, निर्माणका क्रममा कुनै कारण काम रोक्नु नपरे तोकिए कै समयमा निर्माण सम्पन्न हुने ई.बरालले बताउनुभयो । विदेशबाट आउनु पर्ने विल्डिङ्को छत बाहेक सवै निर्माण सामाग्रीहरु आईसकेकाले निर्माणमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । तर, १३ औँ दक्षिण एशियाली खेलकुद पश्चात खेल अधिकारी र स्थानिय सरकारका प्रमुख लगायत सरोकारवालाहरुको चासो कम देखिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनले जनाएको छ । रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरिएको थियो ।




