राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३ औं सागमा हासिल गरेको परीणाम नेपालको ईतिहासमै अहिलेसम्मकै सबैभन्दा बढि पदक हासिल गर्न सफल भएको भन्दै यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभएको छ । बिहिबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको लागि हिजो नगद पुरस्कार पनि घोषणा गरेको जनाउँदै स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताउनुभयो ।
उहाले सरकारले खेलाडीहरुको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको पनि स्पष्ट पार्नुभयो । नेपालको खेलकुद जगतको वृद्धिविकासको लागि आफूहरु योजनासहित अघि बढ्न लागेको सिलवालले बताउनुभयो । सिलवालले आफूहरुको अबको ध्यान भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सुनाउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भिर भएर लाग्ने बताउनुभयो । सिलवालले आफूले नेपालमा भएका सबै संघ तथा संस्थाहरुलाई यसअघि गरेका काम र अब गर्ने योजनासहित निर्देशन दिएको पनि सुनाउनुभयो । उहाले नेपालको खुलकुद क्षेत्रले क्रमिक रुपमा सुधार र छलाङ गर्दै अघि बढेको बताउनुभयो । खेलाडीहरु अब ग्रास–रुटबाटै उत्पादन गरिने पनि उहाले जानकारी दिनुभयो ।




