सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार ललितपुरमा कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गनुृभयो । एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । सम्झौतासँगै हरेक क्लबको जर्सीमा कतार एयरवेजको लोगो राखिने छ । यस्तै कतार एयरवेजको बोर्डहरु राखिनेछ । एन्फाले पहिलो पटक लिगका लागि विदेशी कम्पनिसँग सहकार्य गरेको हो ।

सम्झौतापछि बोल्दै अध्यक्ष शेर्पाले कतार एयरवेजले नेपाली लिगलाई उचाईमा पुर्याउने काम गरेको बताउनुभयो । ’ए’ डिभिजन लिग फुटबल शनिबारबाट सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ’ए’ डिभिजन लिगको सुरुवात हुनेछ । फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् । लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार