पोखराको पहिचान जेठोबुढो धान लोपउन्मुख अबस्थामा पुगेको छ । पोखराको पहिचान बनाएको पुरानो स्थानिय धान विभिन्न कारणले गर्दा हाल लोपउन्मुख अबस्थामा पुगेको स्थानिय कृषकहरुले गुनासो गरेकाछन् । पोखरामा शहरीकरणका कारण खेतियोग्य भुमिमा घर तथा भवन निर्माण भएसंगै पोखरामा नयाँ जातको धान हाईब्रिड भित्रिएसंगै जेठोबुढो धान लोपउन्मुख अबस्थामा पुगेको पोखरा २५ हेमजाका शालिकराम बाँस्तोलाले गुनासो गरे । पोखराको पहिचानको लागि पनि पुरानो धान क्षंरक्षण गर्न उनले माग गरेकाछन्। उनले भने “ पोखराको पहिचान जेठोबुढो, पहेले, गुर्दी सहितका धान हाल लोपउन्मुख अबस्थामा पुगेकाछन्, यसलाई समयमै हामीले संरक्षण गर्न सकेनौं भने हाम्रो पहिचान नै हराउछ, हाइब्रिड धान कुनै समयमा धेरै फले पनि दिगो रुपमा हेर्दा यसले हामीलाई धेरै असर पारेको हुन्छ । ” पोखराको फेवाताल सिरान भाग फेवाफाँट क्षेत्रमा जेठोबुढो धानमा कर्म जातको चराले अर्को समस्या उत्पन्न भएको स्थानिय कृषक मानबहादुर थापाले गुनासो गरे । पोखराको पुरानो जातको धानमा हुने गरेको समस्यालाई हल गर्न स्थानिय सरकारको खासै भुमिका नभएको गुनासो गरे ।
पोखरा महानगरपालिकाका बरिष्ठ बागवानी विकास अधिकृत मनोहर कडरियाले पोखराको पहिचान जेठोबुढो धान विभिन्न कारणले गर्दा उत्पादन कम हुने गरेको बताए । उनका अनुसार महानगरले जेठोबुढो धान संरक्षण गर्ने अभियान अन्र्तगत यस बर्ष कृषक प्रोत्साहन स्वरुप ५ लाख रुपैया बजेट समेत विनियोजन गरिएको छ । स्थानिय तथा पुरानो धान भन्दा हाईब्रिड धान करिब तीन गुणा बढी उतपादन हुने हुदा केही कृषकहरु हाइब्रिड धानतर्फ आकर्षित हुदा पनि पुरानो जातको धान लोप हुने अबस्थामा पुगेको बरिष्ठ बागवानी विकास अधिकृत कडरियाले जनाए । कुनै समुह तथा सहकारीमा आबद्ध भएका न्यूनतम ५ रोपनी क्षेत्रफलमा जेठोबुढो धान खेति गर्नेहरुको लागि हाल महानगले आवेदन लिन थालेको उनले जनाए । उनका अनुसार यही कात्र्तिक २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । निरन्तर पानी लाग्ने ठाउँमा जेठोबुढो धान रोपिने हुदा पोखराको पार्दी, फेवाफाँट, काहुँखोला, हेमजा लगायतका ठाउँमा जेठोबुडो धान कम उत्पादन हुने गरेको बरिष्ठ बागवानी विकास अधिकृत कडरियाले बताए । यसपाली पानी धेरै परेको र किरा समेत नलागेकोले पोखरामा धान उत्पादन भने बढ्न सक्ने उनले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा करिब २२ हजार हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको छ ।




