१७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि सुरु हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना हुने जनाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बिचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कलासंस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गन लागिएको महासंघका निवर्तनमान अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो । मेलामा आठ प्याभिलियन सहित २ सय कक्ष रहने जानकारी दिइएको छ । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहनुका साथै विभिन्न देशका २० कक्ष रहने जनाइएको छ ।




