नेपाल वायूसेवा निगमले नेपाल एयरलाइन्सबाट विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने बताएको छ । निगमले बुधबार काठमाडौंमा असोज महिनासम्म भएका कामकारबाही बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरी सेवामा सुधार र खर्चमा कटौती गरि २ अर्ब बचत गर्ने जनाएको हो । सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खासगरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट उक्त बचत हुने आँकलन गरिएको बताउनुभयो ।

अध्यक्ष खरेलका अनुसार जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएकाले किटको मूल्य कटौति गर्न सघाउ पुग्ने छ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उहाँको भनाई छ । त्यस्तै इन्जिनियरिङ बिभागका माध्यमबाट धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेकाले पनि खर्च घटाउन भूमिका खेल्ने दाबी गर्नुभयो । नगमले एक वर्षको अवधिमा ठुलो जहाजमा १५ जना पाइलट तयार पारेको पनि बताएको छ । जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको उहाँले बताउनुभयो । त्यस्तै निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको जानकारी दिनुभयो । त्यस्तै निगमले लामो समयपछि ३÷४ वटा भिभिआइपी उडानहरु गर्न सफल भएको, जापानको नारिता विमानस्थमा विगतमा चार्टड उडान मात्र हुने गरेको र अहिले पहिलो पटक व्यापारी उडान गरेको दाबी गरेको छ । निगमले आपतकालिन उद्धारका लागि पनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि र सेवाको विस्तार गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार