पोखराको पर्यटकीय क्षेत्र फेवातालको माटो बाराही घाटमा निर्माण हुन लागेको बिच भलिवल कोर्टमा प्रयोग गरिएको छ । आगामी मंसिर १५ देखि पोखरामा पनि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित हुने गरी पोखरामा निर्माण हुन लागेको बिच भलिवल कोर्ट निर्माण गर्दा बराहीघाटमा धेरै ठुला खाडलहरु भएकोले त्यसलाई पुर्न पनि फेवातालको माटो प्रयोग गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले बताए । उनका अनुसार फेवातालको सिरानभाग खपौदीबाट फेवातालको माटो निकाल्दै बाराहीघाटमा निर्माण हुन लागेको बिच भलिवल कोर्ट निर्माण गर्न हाल दैनिक जसो ८ वटा टिप्पर प्रयोग गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको ५२ लाखको आर्थिक सहयोगमा बिच भलिवल कोर्ट निर्माण कार्य तिव्र पारिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष एवं बिच भलिवल कोर्ट निर्माण समितिका संयोजक समेत रहेका भिम पराजुलीले बताए । उनका अनुसार आगामी १२ दीन भित्र ३ वटा बिच भलिवल कोर्ट सहितको ४ वटा चेन्जिङ रुम, २ वटा सौचालय, र एउटा बिच भलिवल कोर्ट मर्मत गरिने भएको हो । पोखराको फेवातालकिनार बाराही घाट स्थित नेपाल ट्रष्टको जग्गामा उक्त पूर्वाधार निर्माण गर्न लागिएको संयोजक पराजुलीले बताए । नयाँकोर्टहरु निर्माणका लागि करिब ५ फिट गहिरो खाल्टो पुर्न करिब ५ हजार ५ सय घन मिटर माटो लाग्ने उनले बताए । करिब डेढ फिट सेतीनदीको बालुवा माथिल्लो खाल्टो पुरेसंगै माथिल्लो भागमा राखेर बिच भलिवल कोर्ट निर्माण गरिने भएको उनले जनाए । भलिवल कोर्टसंगै अस्थायी प्यारापिट समेत बनाउने आफुहरुको योजना रहेको पराजुलीले जनाए ।
पर्यटकीय नगरी पोखरामा उक्त भलिवल कोर्ट निर्माण भएसंगै सागमा छनौट भएका खेलाडीहरुको समेत प्रशिक्षण गरिने भएको राखेपका सदस्य राजेश गुरुङले बताए । उनले भने “ पोखरामा साग लक्षित ९ वटा खेलका खेल पूर्वाधार निर्माण केही धमाधम भइ रहेकाछन भने केही निर्माणको अन्तिम चरणमा पुगेकाछन्, सागका खेल पोखरामा हुने गरी हामीले पूर्वाधार निर्माणमा ध्यान दिएका छौं । ” पोखरामा केही खेलको प्रशिक्षण समेत जारी रहेको छ ।




