१३ औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ । आयोजक प्रो स्पोर्टस प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते आयोजना हुने जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रो स्पोर्टसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं म्याराथनको मुख्य स्पर्धा महिला र पुरुष फुल म्याराथन र हाफ म्याराथन रहने छ । म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर माईतिघर, बानेश्वर हुदै भक्तपुर सल्लाघारी हुँदै पुनः त्रिपुरेश्वर आएर सकिने छ । त्यस्तै ५ किमिको खुल्ला दौड, कर्पोरेट रिले, ५ किमीकै छात्रारछात्र दौड र ३ किमीको ह्वीलचेयर दौड हुनेछ । यस्तै यस पटक फेमीली दौड समेत राखिएको छ । यसअघि आयोजकले यस प्रतियोगिता असोजमा गर्दै आएको थियो । तर, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्ये नजर गर्दै पुसमा सारिएको आयोजकले जनाएको छ । डिसेम्बरमा गर्ने भनिएपनि साग गेम्सको कारण प्रतियोगिता सारिएको हो । असोजमा गर्दा मौसम राम्रो हुने भए पनि पर्यटन वर्षलाई सफल पार्न समय सारिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विजेताले पाउने पुरस्कार रकम भने पछि खुलाईने आयोजकले जनाएको छ । गत वर्ष म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाएका थिए । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाएका थिए । त्यस्तै राष्ट्रिय कीर्तिमान बनाउने नेपाली खेलाडीलाई पनि पुरस्कृत गरिने छ । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार