नेपालको राष्ट्रिय ह्याण्डबल टोलीलाई पोखराको सफल टाक्स फोर्स सेक्यूरिटि एण्ड ट्रेनिङ सेन्टरले जर्सी सेट हस्तान्तरण गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप प्रशिक्षणमा रहेको ह्याण्डबलको महिला तथा पुरुष खेलाडीहरुको लागि सेन्टरले ५० थान जर्सि सेट मंगलबार पोखरामा हस्तान्तरण गरेको हो ।
सेन्टरका प्रबन्ध निर्देशक घनश्याम आचार्यले नेपाल ह्याण्डबल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङलाई उक्त जर्सी सेट हस्तान्तरण गरेका हुन्। देशको नाममा मरिमेटेर खेल्ने खेलाडीहरुको थोरै भए पनि हौसला स्वरुप आफुले सानो सहयोग गर्न पाएकोमा आचार्यले खुसि व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए । यस अघि बृद्धाश्रम सहितका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दैै आएका प्रवन्ध निर्देशक आचार्यले बुधबार आफ्नो जन्म दिन परेकोले उक्त अवसरमा पोखराको मानव सेवा आश्रममा गएर केही सहयोग गर्ने योजना रहेको बताए ।
यसैबिच, ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा हाल जारी रहेको छ । साग अन्तरगत बन्द प्रशिक्षणका लागि महिला तथा पुरुष गरि ५६ जना खेलाडीहरु पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशालामा हुने भएको छ । पोखरा रंगशालाको ह्याण्डवल एकेडेमी तथा बहुउद्धेश्यिय कवर्ड हलमा बन्द प्रक्षिण भइरहेको संघका अध्यक्ष गुरुङले बताए । पुरुष तर्फ अरुणलाल कर्ण, टेक बहादुर वि.क. र हिमाल दाहालले प्रशिक्षण गराएका छन भने महिला तर्फ कृष्ण शाक्य, बिन्दा थापा र भिमशेन शाक्यले प्रशिक्षण गराएकाछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार