१२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेश च्याम्पियनसिपमा भारतका रविन्द्र कुमार मल्लिक ओभरअल च्याम्पियन बनेका छन् । यस्तै ८ राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिपमा अफगानिस्तान सबैभन्दा धेरै अंक जोड्दै टिम च्याम्पियन बनेको छ । शुक्रवार र शनिवार काठमाडौंमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बलिबिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बने । उनी मिस्टर साउथ एसिया घोषित भए । साथै उनले १५ किलोग्रामको ट्रफी हात पारे । विभिन्न ९ तौल समूहमा गोल्ड मेडल जित्नेबीच ओभरअल च्याम्पियनसिपमा लागि प्रतिस्पर्धा हुने तय थियो, तर अन्तिम चरणमा दुई समूहमा गोल्ड मेडिलस्ट खेलाडी पूर्ण रुपमा फिट नरहेको भन्दै आयोजकले ७ तौल समूहका विजेतालाई मात्र प्रतिस्पर्धा गराएको थियो । यस्तै टिमतर्फ अफगानिस्तान सर्वाधिक अंकसहित टिम च्याम्पियन बन्दा घरेलु टोली नेपाल दोस्रो र भारत तेस्रो भयो । अफगानिस्तानले ५३५ अंक जोड्यो । यस्तै नेपालले ४४५ र भारतले ३८८ अंक प्राप्त गरेको थियो । नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसनको आयोजनामा भएको दुई दिने च्याम्पियनसिपमा बडिबिल्डिङ र फिजिक्सतर्फ गरी विधिन्न १८ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार