पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल सेटलाईट टेलिकमले प्रायोजन गरेको छ । काठमाडौंमा साउन अन्तिम साताबाट आयोजना हुने प्रतियोगिताको लागि नेपाल सेटलाईटले प्रायोजन गरेको हो । आयोजक नेपाल भलिबल संघले शनिबार नेपाल सेटलाईट टेलिकम प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष सम्झना अर्यालले हस्ताक्षर गरे । सम्झौतासँगै नेपाल सेटलाईटले प्रतियोगिताको लागि २० लाख नगद उपलब्ध गराउने छ । नेपाल सेटलाईटले शनिबार नै संघलाई २० लाखको चेक हस्तान्तरण गरेको छ । यस प्रतियोगिताका लागि संघले यसअघि नेपाल उद्योग वाणिज्य महासंघसँग पनि प्रायोजन सम्झौता गरिसकेको छ । महासंघले प्रतियोगिताका लागि ४० लाख नगद उपलब्ध गराउने छ । कार्यक्रममा संघका महासचिव जितेन्द्र बहादुर चन्दले आगामी दिनमा संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता गर्ने जानकारी दिनुभयो । पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुनेछ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको लागि नेपालले तयारी सुरु गरिसकेको छ । नेपालले दोस्रो चरणमा १८ सदस्सीय नेपाली टोलीलाई प्रशिक्षण गराइरहेको छ । नेपाली टोलीलाई मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले प्रशिक्षण दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार